• २०८३ कार्तिक ३० गते आइतवार

चीनबाट ल्याइने नागरिकलाई चार ठाउँमा राख्न प्रधानमन्त्रीको निर्देशन

इचंगुनारायणको सुकुमबासी आवास भवन, खरिपाटीको विद्युत् प्राधिकरण तालिम केन्द्र, शिवपुरी र सूर्यविनायकका सैनिक ब्यारेकमा राख्न निर्देशन
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ २४, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चीनको वुहानबाट ल्याइने नागरिकलाई काठमाडौं र भक्तपुरका चार ठाउँमा राख्न निर्देशन दिएका छन् । उनले काठमाडौंको इचंगुनारायणस्थित सुकुमबासी आवास भवन र शिवपुरी सैनिक ब्यारेक तथा भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्र र सूर्यविनायकको सैनिक ब्यारेकमा राख्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र पर्यटनमन्त्री योगेश भट्टराईलाई निवासमै बोलाएर छलफल गरेका थिए । छलफलमा मुख्यसचिव लोकदर्शन रेग्मीसहित सम्बन्धित मन्त्रालयका सचिव र सुरक्षा अधिकारी पनि सहभागी थिए ।

बुधबार मुख्यसचिवको संयोजनमा बसेको बैठकले खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्र छनोट गरेको थियो । तर, सबैलाई एकै स्थानमा राख्नुभन्दा विभिन्न ठाउँमा बाँडेर थोरै–थोरै राख्दा सुरक्षित हुने भन्दै प्रधानमन्त्रीले चार ठाउँमा राख्न निर्देशन दिएका हुन् । यी चारै स्थानको स्थलगत अनुगमन पनि भइसकेको छ । ‘अब एक साताभित्र चीनबाट नागरिक ल्याउने गरी काम दु्रत गतिमा अघि बढ्छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

स्वदेश फर्किन एक सय ८५ जनाले बेइजिङस्थित नेपाली दूतावासमा फारम भरिसकेका छन् । उनीहरूलाई फिर्ता ल्याएपछि १४ दिनसम्म छुट्टै सुरक्षित स्थानमा राख्नुपर्छ । तर, ठाउँ निश्चित गर्नै सरकारले पाँच दिन लगाएको छ । प्रधानमन्त्रीले चीनबाट ल्याइने नागरिक बिरामी परे उपचार गर्न तथा क्वारेन्टाइन अवधिको तयारीमा जुट्न पनि निर्देशन दिएका छन् । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयका सचिव नारायणप्रसाद बिडारीले विस्तृत कार्ययोजना प्रस्तुत गरेका थिए । त्यस्तै, परराष्ट्रसचिव शंकरदास बैरागीले पछिल्लो अवस्थाबारे बैठकमा जानकारी गराएका थिए ।

चीनबाट ल्याइनेमध्ये सम्भावित बिरामीलाई लक्षित गरी स्वास्थ्य मन्त्रालयले ४३ शड्ढयाको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको छ । दुई सय बिरामीलाई परीक्षण गर्न पुग्ने किट मौज्दात छ । त्यस्तै, ५५ जोर ‘फिजिकल प्रोटेक्टिभ इक्युमेन्ट’ (लुगा) तयारी राखिएको छ ।

हुबेई प्रान्तका वुहानलगायत सहरमा रहेका नेपाली विद्यार्थीका अभिभावकले आफ्ना सन्तान फर्काउन सरकार अझै गम्भीर नबनेको भन्दै गुनासो गरेका छन् । फर्काउने प्रक्रिया तत्काल अगाडि बढाउन माग गर्दै उनीहरू बिहीबार स्वास्थ्य मन्त्रालयमै पुगे ।

१५ जना अभिभावक मन्त्रालय पुगेका थिए । चीनमा झ्यालढोका बन्द गरेर नागरिक भोकभोकै बस्दा पनि सरकार भोलि–भोलि भन्दै ल्याउने दिन लम्ब्याएर बसिरहेको अभिभावक सोमिला कक्षपतीले बताइन् । आफ्ना सन्तान र आफन्तको तत्काल उद्धार गरिदिन सबै अभिभावकले याचना गरे । यो समाचार आजको नया पत्रिका दैनिकका लागि अर्जुन अधिकारीले तयार पार्नुभएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस