काठमाडौँ, २० पौष । तेस्रो न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।\
आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबले आइतबार सहभागी टोलीको अन्तिम टुङ्गो लगाएको हो । पुस २३ देखि २६ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपान स्पोर्टस क्लबको मैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजक न्यु डाइमण्ड स्पोर्ट्स क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, टप्स उच्चमावि पोखरा, पारामाउन्ट स्कुल र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले ४ लाख १ सय १ रुपैयाँ, उपविजेताले ३ लाख १ सय १ रुपैयाँ, तेस्रो हुनेले १ लाख ५१ हजार १ सय १ रुपैयाँ र चौंथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार १ सय १ रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।