असोज १८, धनुषा । प्रदेश नं. २ प्रहरीले जबरजस्ती करणीको मुख्य अभियुक्त र मतियार पक्राउ गरेको छ । सिरहा विष्णुपुर गा.पा. वडा नं. १ बिष्णुपुर स्थित शत्रुधन साहको घरमा बस्ने सिंहेश्वर साहको छोरा बर्ष २० को मुकेश कुमार साहले सोही ठाउकी १६ वर्षिया बालिकालाई असोज १२ गते जबरजस्ती करणी गरेको थियो ।

उक्त घटनालाई ढाक छोप गरी अभियुक्तलाई उन्मुक्ती दिलाउने उद्देश्यले गाँउ घरमा नै मिलाउने भनि गाँउका केहि मानिसहरुको संलग्नतामा गाँउमा पञ्चायती बसेको थियो । पञ्चायतीमा बसेका मानिसहरुले पिडितका आफन्त ऋणीद्वय सिंहेश्वर साह र शत्रुधन साहसँग रु.५,००,०००- (अक्षरेपी रु. पाँच लाख) को कपाली तमसुक कागज समेत गराई जगबीर यादवको जिम्मामा राखी मिलापत्र गरेको भनि सूचना प्रहरी कार्यालयमा प्राप्त हुन आएको हुँदा जबरजस्ती करणी जस्तो जघन्य अपराध मिलापत्र गर्न नपाईने अपराध हो ।
जबर्जस्ती करणी जस्तो जघन्य अपराध को मतियार भई अपराध दबाउन खोजेको कसुरमा संलग्न मतियारहरु जिल्ला सिरहा बिष्णुपुर गा.पा.वडा नं. १ स्थित बिष्णुपुर बस्ने मुन्नीलाल साहको छोरा बर्ष ५२ को सिंहेश्वर साह, शत्रुधन साहको छोरा बर्ष २२ को अरबिन्द कुमार साह, लक्ष्मी साहको छोरा बर्ष ४५ को शत्रुघ्न साह, मुन्नीलाल साहको छोरा बर्ष ४७ को राजकुमार साह, नथुनी यादवको छोरा बर्ष ४२ को रामउदगार यादव, जनक यादवको छोरा बर्ष ६१ को जगबीर यादव, हिरालाल यादवको छोरा बर्ष ४८ को राजकुमार यादव, अयोधी यादवको छोरा बर्ष ३५ को रौदी भन्ने श्याम सुन्दर यादव समेतका मतियारहरु र मुख्य अभियुक्त मुकेश कुमार साहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुर र जि.प्र.का.सिरहाको संयुक्त प्रहरी टोली परिचालन गरी जिल्ला सिरहा बिष्णुपुर गा.पा.वडा नं.१ बिष्णुपुर टोलबाट पक्राउ गरी कानून बमोजिम आवश्यक अनुसन्धान कार्य जारी रहेको छ ।