भाद्र १९ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्तिमा ८ जना मन्त्री हेरफेरको तयारी गरेका छन् । भदौ मसान्तसम्ममा मन्त्रिपरिषद्का सदस्यहरु परिवर्तनको तयारी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । कोरोना संक्रमण रोकथामका साथै सरकारका कामलाई तिब्रता दिनेगरी प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले असोज पहिलो साताका लागि बोलाउने तयारी गरिएको नेकपाको स्थायी कमिटी बैठक अघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्नेगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टी उपाध्यक्ष बामदेव गौतमसँग छलफल गरेका छन् । अब प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् सदस्यसँगै आफ्नो नीजि सचिवालयमा पनि हेरफेरको तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई सरकारका उपप्रधानसहित भित्र्याउने तयारी गरेका छन् । गौतमले अर्थ मन्त्रालय दाबी गरिरहेका छन् भने प्रधानमन्त्री ओलीले यस बारेमा मुख खोलीसकेका छैनन् । प्रधानमन्त्री ओलीले वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई आफ्नो र अर्थमन्त्रालयको समेत आर्थिक सल्लाहकारको भुमिका दिन खोजेका छन् ।
प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा र रक्षा मन्त्री इश्वर पोखरेललाई हटाउनेबारे छलफल चलाईरहेका छन् । गौतमलाई उपप्रधानसहित बरियताको एक नम्वर दिइएपछि पोखरेलको पद धरापमा पर्ने निश्चित भएको हो । यद्यपी गौतमकी श्रीमती तुलसा थापालाई महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी दिएर गौतमलाई तत्काल सरकारमा जानबाट रोक्ने प्रयास पनि भइरहेको स्रोतले जनाएको छ । तर गौतमले पार्टीको घोषणा पत्र तयार पार्दाका नीति लागु गर्ने र आगामी चुनावमा नेकपालाई थप शक्तिशाली बनाउनेगरी समृद्धिको योजना ल्याउने भन्दै अर्थ मन्त्रीका रुपमा काम गर्न आफु राष्ट्रियसभामा जान लागेको बताउँदै आएका छन् । ओलिको सत्ता संकट टारिदिएकाले गौतमको कुरा टार्न प्रधानमन्त्री ओलीलाई समस्या छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेत, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल र खानेपानी मन्त्री विना मगरलाई हटाउने तयारी भएको छ । कृषि मन्त्री घनश्याम भुषाललाई र पर्यटन मन्त्री योगेश भट्टराईलाई एक पटकका लागि सोहै मन्त्रालयमा अवसर दिइने छ भने परराष्ट्र मन्त्रीको मन्त्रालय परिवर्तन गरि सञ्चारमा ल्याउनेबारे छलफल भइरहेको नेकपा नेताहरुले बताएका छन् । यदि यस्तो भएमा भिम रावललाई परराष्ट्रमा ल्याइने छ ।
विवादीत निर्णय गर्दै आएका श्रम मन्त्री रामेश्वर रायलाइ पनि अन्तिम मौका दिइने भएको छ । लेखराज भट्टलाई प्रचण्डले हटाउन खोजे पनि प्रधानमन्त्री उनको पक्षमा छन् । कानुन मन्त्रीले पनि तत्काललाई निरन्तरता पाउने भएकी छिन् । उर्जा मन्त्री वर्षमान पुनले भने अर्थ मन्त्रीमा दाबि गर्ने भएका छन् । उनीहरुको स्थानमा ल्याउने मन्त्रीबारे छलफल चलिरहेको छ । नेकपा अध्यक्ष प्रचण्डले आफ्नो तर्फबाट हितबहादुर तामाङ, देवेन्द्र पौडेल, पम्फा भुषाल र जनार्दन शर्मालाई सिफारीस गर्ने तयारी गरेका छन् । जनार्दन शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिइने भएको स्रोतको दाबी छ । पुर्व एमालेबाट खगराज अधिकारीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । सुरेन्द्र पाण्डेलाई भौतिक पुर्वाधारको जिमेमेवारी दिनेबारे छलफल भए पनि हालका मन्त्री बसन्त नेम्वाङले राम्रो काम गरिरहेकाले तत्काल उनको मन्त्रालय परिवर्तनको सम्भावना नरहेको बताइन्छ ।
हालका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई नै उक्त मन्त्रालयको जिम्मेवारी दिनेबारे प्रधानमन्त्री ओलीले छलफल गरिरहेको स्रोतको दाबी छ । गत मंसिरमा मन्त्री बनेका मानन्धरले लकडाउन अवधिमा समस्यामा परेका सर्वसाधारणको राहत र उद्धारमा देखाएको सक्रियता र मन्त्रालय मातहतका निर्माणाधिन संसद भवन लगायतका काम प्रभावकारी बनाउन खेलेको समन्वयकारी भुमिकाप्रति प्रधानमन्त्री खुसी छन् । मानन्धरलाई नै सहरी विकासको जिम्मेवारी दिने प्रधानमन्त्रीको चाहनामा उपाध्यक्ष गौतमको पनि सहमति रहेको स्रोतको दाबी छ । राज्यमन्त्री नवराज रावत र मोतीलाल दुगडलाई पनि निरन्तरता दिइने छ । यस्तै प्रधानमन्त्रीलाई साथ दिंदै आएका महेश बस्नेतले पनि मन्त्री बन्ने चाहना देखाएका छन् भने गोकुल बास्कोटालाई अख्तियारले सफाइ दिए फेरि सञ्चार मन्त्री बन्ने सम्भावना रहेको स्रोतको दाबी छ । नारदमुनी रानालाई पनि मन्त्री बनाउनेबारे छलफल चलिरहेको छ । विशाल भट्टराई, गणेश ठगुन्ना लगायतका नेताहरु पनि मन्त्री बन्न दौडधुपमा लागिरहेका छन् ।