भाद्र १९, दैलेख । दैलेख जिल्लाको गुराँस गाउँपालिकाले पहिरो पीडितलाई नयाँ घर दिएको छ । गुराँस गाउँपालिका–२ पुडेनी गाउँका पहिरो पीडितले नयाँ घर पाएका हुन।

२०७६ साल असारमा गाउँमाथिबाट खसेको पहिरोले पुडेनीका अधिकांश घरमा क्षति पुर्याएको थियो । पहिरोले गाउँ नै जोखिममा परेपछि उनी विस्थापित बनेका थिए । गुराँस गाउँपालिकाले पुडेनीका १४ परिवारका लागि नयाँ घर बनाएको छ । नयाँ घरमा बस्न पाउने भएपछि १४ घरका ९० जनाले गत वर्ष पाएको पहिरोको सास्ती बिर्सन थालेका छन् । ‘गत वर्ष एउटै त्रिपालमा ७ जनाको परिवार कष्ठसाथ बस्नुपर्यो,’ एक स्थानीय जयबहादुर ओलीले भने, ‘नयाँ घर बनेपछि पहिरोको सबै पीडा भुलियो ।’ बजार नजिक नमुना घर बनेपछि जीवनस्तर सहज हुने उनको अपेक्षा छ ।
बत्ती, पानी र शौचालयको व्यवस्था पनि गाउँपालिकाले गर्ने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । गाउँपालिको ३५ लाख र प्रदेश सरकारको विशेष अनुदानअन्तर्गतको २५ लाख रुपैयाँमा पहिरोपीडितका लागि आवास निर्माण भएको ओलीले जानकारी दिए । जसमा स्थानीयले ८ लाख रुपैयाँ श्रमदान गरेका छन् । गाउँपालिकाले सबै परिवारका लागि २ कोठाको घर बनाइदिएको हो ।