• २०८३ जेष्ठ १९ गते मङ्गलवार

सेनाको कुटपिटपछि मृत्यु भएका चेपाङ युवकको शव बुझ्यो परिवारले

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८,चितवन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएको भनिएका पूर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको शव परिवारले बुझेको छ । राजकुमारको शव परीक्षण त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो । सर्वपक्षीय बैठकले चेपाङलाई कूटपिट गर्नेलाई कानूनी दायरामा ल्याई आवश्यक कारवाही गर्ने पहिलो निर्णय गरेको छ ।

बैठकले राजकुमारकी छोरीलाई भरणपोषण र छात्रवृत्ति रकम नियमितरूपमा उपलब्ध गराउने, मृतकको घर निर्माणमा आवश्यक वन पैदावर, कच्चापदार्थ र श्रमसमेत निःशुल्क उपलब्ध गराउने, राजकुमारको परिवारलाई राहतस्वरूप रु १० लाख रकम उपलब्ध गराउने र शव परिवारले बुझि अन्त्येष्टि गर्ने निर्णय भएको बैठकमा सहभागी नेपाली काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।

कूटपिटबाट घाइते भएका राजकुमारको अवस्था जटिल बन्दै गएएपछि यही साउन ७ गते थप उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राजकुमारको उपचारकै क्रममा सोही राति मृत्यु भएको थियो । मृतक राजकुमारको चेपाङ संस्कार अनुसार गड्यौलीमा अन्त्येष्टि गरिने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस