भदौ १६, काठमाडौं । सर्जिकल व्यवसायीमाथि कुटपिट भएपछि काठमाडौंको त्रिपुरेश्वर क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका छन् ।सोमबार दिउसो २ बजेपछि स्थानीयहरुले हिमालयन सर्जिकलका युवराज बेल्बासेलाई कुटपिट गरेको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन् । सर्जिकल व्यवसायलाई राज्यले अत्यावश्यक सेवा अन्तर्गत चौविसै घण्टा सञ्चालन गर्न दिएको छ । व्यवसायीहरुको संगठन केमिकल एण्ड सर्जिकल सप्लायर्स एसोसिएसन नेपालले वडा कार्यालय र स्थानीय ब्वाइज युनियनलाई समेत बोधार्थ गरि विहान ११ बजे देखि दिउँसो २ बजे सम्म मात्रै पसल सञ्चालन गर्न पत्र पठाएको व्यवसायीहरुले बताए ।

सोही नियमलाई लिएर स्थानीयले सोमबार दिउसो २ बजे भित्रै पसल बन्द नगरेको भन्दै आफूमाथि कुटपीट गरेको व्यवसायी बेल्बासेले बताए । दिउँसो २ बजेर केही मिनेट जाँदा पसलमा रहेका ग्राहकलाई सामान दिई पसल बन्द गर्नै लाग्दा केही व्यक्तिको समूहले कुटपिट गरेको उनले बताए ।