चैत १४, सिरहा । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले बिहीबारको अनिवार्य विज्ञान विषयको प्रदेश दुई अन्तर्गतको परीक्षा रद्द गरेको छ ।

सप्तरीमा बुधबार राति नै जिल्ला शिक्षा समन्वय समितिका कर्मचारी, परीक्षा केन्द्रमा खटिएका निरिक्षक, सुरक्षाकर्मी लगायतको मिलेमतोमा प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा बिहीबार लिइएको अनिवार्य विज्ञान विषयको परीक्षा रद्द गरिएको हो । बिहीबार बसेको बोर्डको बैठकले नियमित सञ्चालन भएको विज्ञान विषयको परीक्षा रद्द गरेर चैत २२ गते फेरि लिने निर्णय गरेको हो ।
सप्तरीमा अनिवार्य विज्ञान विषयको प्रश्नपत्र बुधबार राती नै बाहिरिएपछि बिहीबार हुने विज्ञान विषयको परीक्षा चैत २२ गतेका लागि सारिएको छ । अनिवार्य ६ वटा विषयका प्रश्नपत्र प्रदेश अनुसार फरक फरक बनाइएकाले प्रदेश २ मा मात्रै बिहीबारका लागि तय गरिएको परीक्षा चैत २२ गते सारिएको हो । अरु प्रदेशमा भने परीक्षा तालिका अनुसार नै परीक्षा सञ्चालन हुने पनि परीक्षा नियन्त्रक अधिकारीले बताउनुभयो ।