• २०८२ असार ५ गते बिहिवार

सरकारी पैसामा लुट दैलेखको डुङ्गेश्वर गाउँपालिकाले उडायो कपी पेष्टमा ५ लाख

पढ्न लाग्ने समय : २ मिनेट

चैत १०, दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाले कपी पेष्टमै ५ लाख उडाएको छ । गाउँपालिकाले प्रकाशन गरेको गाउँपालिका बस्तुगत विवरण २०७४’ नामक किताब प्रकाशन गर्दा यस्तो हुन गएको हो ।

१ सय १० पृष्ठको पुस्तकमा उल्लेखित गाउँपालिका सँग नमिल्दो भौगोलिक स्वरुप मात्र नभएर अधिकाँश विवरण डुङ्गेश्वर सँग मिल्दैनन् । सुर्खेतका गाउँपालिकालाई नगरपालिका भनेर उल्लेख गरेको छ । दैलेखको गाउँपालिकाले सुर्खेतको नगरपालिकालाई गाउँपालिका भनि पुस्तक सार्वजनिक हुनु लज्जाको विषय बनेको छ ।

‘गाउँपालिका बस्तुगत विवरण २०७४’ अन्तर्गत भौगोलिक स्वरुप खण्डमा लेखिएको छ, दक्षिण भेगमा भेरी नदीले छिमेकी गाउँपालिका भेरीगंगासँग, पश्चिममा झुप्राखोलाले वीरेन्द्रनगर गाउँपालिकासँग, उत्तरमा चिंगाड गाउँपालिकासँग र पूर्वमा खहरे खोलाले गुर्भाकोट गाउँपालिकासँग सीमा रहेको छ । यो गाउँपालिकाले प्रकाशन गरेको पुस्तकमा राखिएको विवरण सुर्खेतको लेकवेशी नगरपालिकाको हो । गाउपालिकाले सजिलोका लागि अन्यन्त्र स्थानको कपि गरेर किताब प्रकाशन गरेको पाईन्छ ।

डुङ्गेश्वर गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्ल पाश्वचित्रका लागि संकलित अधिकांश विवरणहरु गलत र कपोकल्पित रहेको स्विकार गर्छन । , स्वास्थ्य, शिक्षा लगायतका तथ्याङ्कहरु पनि मिल्दैनन् अध्यक्ष मल्लले भने, ‘अहिले फेरि गाउँपालिकाको बस्तुगत विवरण संकलन गर्ने काम भइरहेको छ ।’

गाउँपालिकाको बस्तुगत विवरण सहितको पुस्तक प्रकाशनका लागि वडा नम्वर २ का अध्यक्ष राजुकुमार खत्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । ‘सुर्खेतको लेकवेशी नगरपालिकाको ठाउँमा डुङ्गेश्वर गाउँपालिका बनाएर पाश्र्व्चित्र बनाएको देखिन्छ’, गाउँपालिकाका एक जनप्रतिनिधि भन्छन् ‘समितिले अर्को ठाउँको कपीपेष्ट गर्दा सिंगो गाउँपालिकाकै बेइज्जत भएको छ ।’

पाश्वचित्रमा दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका हुनुपर्नेमा वीरेन्द्रनगर नगरपालिमा उल्लेख छ । पृष्ठ ५२ मा उल्लेखित बैंक तथा वित्तिय संस्थाको विवरणमा ‘हालसम्म गाउँपालिकामा कुनैपनि बैंक तथा वित्तिय संस्था नरहेकाले सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यता रहेको उल्लेख छ ।

पाश्वचित्र प्रकाशन समितिका संयोजक खत्री मानवीय त्रुटिले केही विवरणहरु फरक पर्न गएको बताउँछन् । ‘पाश्वचित्रमा केही विवरणहरु सुर्खेतको लेकवेशी नगरपालिकाको कपी भएको रहेछ’, उनले भने, ‘अहिले हामीले सच्याएर गाउँपालिकाको बेभसाइटमा राखेका छौं ।’ उनले गाउँपालिकाको वेभसाइटमा विवरण सच्याएर राखिएको बताए पनि कुनै फेरबदल गरिएको छैन ।
गाउँपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्मा यसअघि सुर्खेतको लेकबेशी नगरपालिकाको कार्यकारी अधिकृत थिए । ‘लेकवेशी नगरपालिकाको पाश्वचित्रलाई तोडमोड गरेर बनाउँदा डुङ्गेश्वर गाउँपालिकाको तथ्याङ्क फरक पर्न गएको देखिन्छ’ एक जनप्रतिनिधिले भने, ‘यसमा कार्यकारी अधिकृत र बस्तुगत विवरण संकलन समितिले हचुवाको भरमा काम गरेको देखिन्छ ।’
‘एक सय ५० किताव निकाल्न र विवरण संकलनका लागि ५लाख रकम खर्च नहुनुपर्ने जनप्रतिनिधिको भनाई छ ।

प्रतिक्रिया दिनुहोस