कार्तिक ४ ,काठमाडौँ । तिहार सुरु हुनै लाग्दा इलेक्ट्रिक पसलहरुमा ग्राहकको चहलपहल बढ्न थालेको छ ।
यो पर्वमा विभिन्न प्रकारका झिलमिली बत्तीहरुको ब्यापार फस्टाउँछ । लोडसेडिङ हटेपछि त झन् शहरका हरेकजसो घरमा झिलिमिली बत्तीले तिहारलाई स्वागत गर्ने गरिएको छ ।

तिहारमा उच्च खपत हुने भएता पनि झिलिमिली बत्ती नेपालमा उत्पादन हुँदैन । यसको आयातमा नेपालबाट करोडौं रकम विदेशिन्छ । नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका उपाध्यक्ष रेशमप्रसाद देवकोटाका अनुसार तिहारमा यो वर्ष ५० देखि ६० करोड मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिँदैछ ।
बजारमा यस्ता बत्तीको माग सुरु भइसकेको छ । इलेक्ट्रिक पसलदेखि विभिन्न खुद्रा पसलहरुमा समेत सिजनल ब्यापारका रुपमा यो बत्ती बेच्ने गरिन्छ । सडकपेटीमै पनि झिलीमिली बत्ती बेच्नेहरु भेटिन्छन् ।
महासंघका उपाध्यक्ष देवकोटाका अनुसार थुप्रै होलसेलरहरुले तिहारका लागि बत्ती झिकाएका छन् । कतिको बत्ती आइसके भने कति भन्सार छुट्ने क्रममा छन् ।
‘झिलिमिली बत्ती तिहारको समयमा अत्यधिक बिक्री हुन्छ । अन्य चाडपर्व र बिहेको सिजनमा थोरै–थोरै विक्री हुन्छ,’ देवकोटाले भने ।
यी बत्ती नेपालमा एक अर्ब रुपैयाँभन्दा बढी रकममा खरिदबिक्री हुन्छ । यसमा उपभोक्ताले गर्ने बिजुलीको महसुुलको हिस्सा समावेश छैन । तिहारको समयमा यस्ता बत्ती धेरै जोडिने भएकाले बिजुलीको माग सामान्य भन्दा दोब्बर हुने गरेको छ ।