पौष, ४काठमाडौँ । अबुधाबीकी अइशा मोहम्मद मसित अल मजरुइले युएईका युवराज तथा शासक शेख मोहमद बिन जियाद अल नह्यानसँग हात मिलाउने चाहना पूरा नहुँदा दु:खी बनेको तस्वीर सामाजिक सञ्जालमा छाएपछि युवराज तथा शासक शेख बालिकाको घरमै पुगेर माया गरेका छन् । जुन भिडियोले अहिले चर्चा पाएको छ ।

शेख मोहमद बिन जियाद अलको स्वागतमा उभिएकी बालिका अइशाले शेख सरिक भएको एक सार्वजनिक समारोहमा उपस्थित भएर बारबार हात मिलाउन अघि बढिरहेकी थिइन् । तर अन्य विशिष्ट ब्यक्तिसँग व्यस्त रहेका युवराजले बालिकालाई ध्यान दिनै भ्याएनन् । उनले बालिकालाई देख्दै देखेनन् भन्दा पनि हुन्छ ।
दुई लाइनमा बालबालिका उभिएका थिए । एक तर्फको बालबालिकाको लाइनमा युएईका सुरक्षा प्रमुखले हात मिलाउँदै अघि बढेका थिए भने अर्कोतर्फ युवराज हात मिलाउँदै अघि बढेका थिए । ती बालिका अर्को लाइनबाट युवराज भएको तर्फ दौडेर आएकी थिइन् । जब अरु बालबालिकासँग हात मिलाउँदै ती बालिका भएसम्म युवराज आइपुगे, बालिकाले हात अगाडि बढाइन् । तर युवराजको ध्यान अर्कै तर्फ मोडियो, उनी बालिकासँग हात नमिलाई अघि बढे ।
तर त्यो सबै कृयाकलापको भिडियो लिएका एक जनाले उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिए । भिडियो भाइरल भएपछि युवराजले आफ्नो व्यवहारप्रति आत्मग्लानि गर्दै बालिकाको घरमै जाने निधो गरे । र, उनी बालिकाको घर पुगे ।
राजकुमारलाई भेटेर बालिका हर्षित देखिएकी छिन् । यस घटनाकाे भिडियोलाई अहिले निकै रुचाइएको छ र राजकुमारको यो कदमको निकै प्रशंसा पनि गरिएको छ ।