असोज २, काठमाडौँ । श्री विशालबजार कम्पनी लिमिटेड, धर्मपथ काठमाडौंमा वरिष्ठ सहायक पदमा कार्यरत पशुपति सापकोटा उपर आरोप-पत्र दायर गरिएको छ ।
सापकोटाले एस.एल.सी.को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी कार्य गरिरहेको हुनाले छानविन गरी नक्कली र किर्ते गर्नेलाई कारवाही गरीपाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनले विशालबजार कम्पनी लिमिटेड, धर्मपथ काठमाडौंमा कार्यालय सहायक पदबाट बढुवा भई सहायक पद र वरिष्ठ सहायक पदमा काम गर्नका लागि गान्धी उच्च मा.वि. मनोहरा, काठमाडौंबाट प्राप्त मध्यमा तह (एस.एल.सी.) को झुठ्ठा एवं नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका हुन् ।
अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार हायक पदबाट वरिष्ठ सहायक पदमा बढुवा भई सरकारी लाभ तथा सुविधासमेत प्राप्त गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।