असोज १, काभ्रे । मौसम खराबका कारण काठमाडौं जान नसकेपछि सात वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण भएका छन् । लुक्लाबाट काठमाडौं उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् भने काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् ।

अवतरण भएका सात वटै हेलिकप्टरका यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएपी) दीपक गिरीले लुक्लाबाट विदेशी पाहुना लिएर काठमाडौं आउँदै गरेका चारवटै हेलिकप्टरमा विदेशी पर्यटक रहेको बताउनुभयो । गिरीका अनुसार काभ्रेको पाँचखाल नगरपालिका वडा नम्वर २ जोरपाटीमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् भने पाँचखाल नगरपालिका २ कै हर्सेमा एक वटा हेलिकप्टर अवतरण गरेको छ ।

अविरल परेको पानी र हुस्सुका कारण लुक्लाबाट उडेका हेलिकप्टर राजधानी जान नसकेका हुन् । मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका एक/एक वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हुन् । चार चालक सहित विदेशी पर्यटक २१ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै नेपालथोकमा अवतरण गरिएका सबै हेलिकप्टरमा पर्यटक रहेको प्रहरीले जानकारी दिएको छ ।