फागुन ६,रोल्पा। ‘हाम्रो अभियान लोक सस्कृतिको संरक्षण लोक श्रष्ठाको सम्मान’ , ‘नव प्रतिभाको प्रोत्साहन’ , भन्ने मुल नाराको साथ रोल्पामा खुल्ला स्तरको अहिलेसम्मकै ठूलो पुरस्कार राशीको दोहोरीगीत प्रतियोगिता हुने भएको छ ।
हिजो आइतबार लिबाङमा पत्रकार सम्मेलन गर्दै लोक तथा दोहोरी गीत प्रतिष्ठान रोल्पाले एकलाख पुरस्कार राशीको प्रतियोगिता गर्ने घोषणा गरेको हो ।
आउँदो फागुन १० गतेदेखि फागुन १३ गते सम्म रोल्पाको लिबाङमा सन्चालन हुने छ । खुल्ला स्तरको राष्ट्रिय प्रतियोगितामा देशभरबाट प्रतियोगी सहभागी हुने लोक तथा दोहोरी गीत प्रतिष्ठान रोल्पाका अध्यक्ष मिलन रोकाले जानकारी दिनुभयो । अध्यक्ष रोकाका अनुसार पहिलो हुने समूहले १ लाख, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार र सान्त्वना हुने समूहले २० हजार पुरस्कार पाउनेछन् भने दुई उत्कृष्टलाई पाँचपाँच हजार पुरस्कार दिइनेछ ।
लोक सस्कृतिको जगेर्ना तथा नव प्रतिभा हरुलाई प्रोत्साहन दिने उदेश्यले प्रतियोगिता आयोजना गरिएको र कार्यक्रमको तयारी लगाएत कार्यक्रम सफल पार्नको लागि आफुले सक्ने सहयोग आ-आफ्नो क्षेत्र बाट सहयोग गर्न सबैलाई अनुरोध गर्नु भएको थियो । ३ दिन सम्म चल्ने सो प्रतियोगितामा करिब १५ लाख खर्च अनुमान गरिएको र जसका लागि जिल्लाका स्थानीय तहहरुसँग समन्वय भइरहेको अध्यक्ष रोकाले बताउनुभयो ।
जिल्ला समन्वय समिति रोल्पाको हलमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका सदस्य टेकेन्द्र सेनले प्रतियोगिताका बारेमा जानकारी दिनुभएको थियो । सेनले प्रतियोगिताका लागि लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय समितिको समन्वयमा निर्णायक राखिने जानकारी दिनुभयो । पत्रकार सम्मेलन कार्यक्रमको सञ्चालन लोक तथा दोहोरी गीत प्रतिष्ठान रोल्पाका सहसहिच भिम वलीले गर्नुभएको थियो ।