काठमाडौं २७, जेठ । आज भारतले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अरब ६० करोड उपलब्ध गराएको छ ।

नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले भुकम्प पछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अरब ६० करोडको चेक हस्तान्तरण गरेका हुन् । भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अरब ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिए ।
भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यस अघि नै २ अरव १० करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ । नेपालका लागि भारतका राजदुत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए । उनले नेपालको विकास, निर्माणको काममा भारत सरकारको साथ रहने पनि बताए ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदुत पुरीले नेपालको निजी आवास पुनर्निर्माणको काम करिव ७० प्रतिशत भन्दा बढि सम्पन्न हुनु आफ्नो मुलुकका लागि सुखद् समाचार भएको पनि बताए ।