भाद्र २३, काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका–५ फुटुङ बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ घर भएका २३ वर्षीय पेम्बा तामाङलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुली घ्याङ्ले गाउँपालिका–२ का ४२ वर्षीय पूर्णबहादुर वाईवा, काठमाडौं महानगरपालिका– १३ बाफल बस्ने ५३ वर्षीय राजु खड्गी, काठमाडौं कलंकी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका–९ का ४१ वर्षीय पाल्साङ तामाङ, काठमाडौं जमल बस्ने रामेछाप दोरम्बा गाउँपालिका–७ का ३२ वर्षीय लिला थापा मगर छन् ।
यस्तै भक्तपुर सूर्यविनायक बस्ने रामेछाप दोरम्बा गाउँपालिका–७ का ३१ वर्षीय शिवराम थापा मगर, काठमाडौं टोखा बस्ने सुनसरी महेन्द्रनगर नगरपालिका–७ का ३९ वर्षीय राजेश गुरुङ र रसुवा थुमान गाउँपालिका–९ का ३५ वर्षीय जिस घले पनि पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित मकालु पेट्रोल पम्पको नजिकबाट शनिबार बिहान पेम्बा तामाङलाई केही मानिसहरुले गाडीमा लिई गएको भन्ने सूचनाको आधारमा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । साथै अपहरित पेम्बा तामाङ समेतले ठगी गरेको आएकाले उनलाई समेत ठगी मुद्दा तथा अन्य ७ जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।