• २०८३ जेष्ठ २८ गते बिहिवार

अस्थायी शिक्षकसँग गलत सहमति गरे अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले प्रतिरोध गर्ने विज्ञप्ति सहित

पढ्न लाग्ने समय : ४ मिनेट

फागुन २१ , काठमाडाैँ । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले अस्थायी शिक्षकको आन्दोलनको दबाबमा अनुचित र गलत खालका सहमति सम्झाैता भए प्रतिरोध गर्ने चेतावनी दिएको छ । मंगलबार उपलब्ध पदाधिकारीको बैठकपछि अनेरास्ववियुकी अध्यक्ष नविना लामा र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै सरकारलाइ सचेत गराएका छन ।

विज्ञप्तिमा भनिएको छ ‘आन्दोलनको दबाबमा शिक्षा क्षेत्रमा हुने कुनैपनि अनुचित प्रकारको सहमति र सम्झौता किमार्थ स्विकार्य नहुने र त्यसको प्रतिरोधमा हामी दुई संगठन सधैं अग्रभागमा रहने ब्यहोरा सम्बन्धित सबै पक्षलाई यसै बिज्ञप्ति मार्फत अवगत गराउन चाहन्छौं ।’

विज्ञप्ति मार्फत दुबै संगठनले अस्थायी शिक्षकलाइ समेत अपिल गरेका छन । विज्ञप्तिमा भनिएको छ ’आदरणीय शिक्षकहरूलाई पनि शिक्षालाई जागिर खाने थलोको रुपमा मात्रै नबुझी शिक्षकको पेशागत मर्यादा, महत्वलाई आत्मसाथ गर्दै स्वत: स्थायीको मागबाट पछि हट्न र खुल्ला प्रतिस्पर्धालाई सहर्ष स्विकारेर अगाडि बढ्न अनुरोध गर्दछौं । आफ्नो ब्यक्तिगत स्वार्थ पुर्तिको लागि लाखौं विद्यार्थीको भविष्यमाथी खेलवाड गर्नेगरी बिद्यालय बन्द गर्ने, पठनपाठनमा असर पर्ने प्रकारको आन्दोलन नगर्न अनुरोध समेत गर्दछौं ।‘

संयुक्त प्रेस विज्ञप्ति

संघीय शिक्षा ऐन जारी हुने अन्तिम तयारीमा छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनको स्पिरिट बमोजिमको शिक्षा एेन आउनुपर्छ भन्ने हाम्रो दृढ मान्यता छ । शिक्षा क्षेत्रमा देखापरेका तमाम बिकृति हटाउंदै शिक्षाको मौलिक हकलाई कार्यान्वयन गर्ने र सार्वजनिक शिक्षाको शिर उठाउने प्रावधान सुनिश्चित हुने गरी शिक्षा एेन आउनुपर्छ ।

देशभर रहेको करिव चालिस हजार राहत शिक्षक दरबन्दीलाई स्थायी दरबन्दीमा परिणत गर्दै (८० प्रतिशत खुल्ला प्रतिस्पर्धा र २० प्रतिशत आन्तरिक ) प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रस्तावित शिक्षा एेनको प्रावधान रहेको छ । मुलत: यही प्रावधानका विरुद्ध राहत शिक्षकहरुको नाममा शैक्षिक सत्रको उत्तरार्ध र पेचिलो समयमा कक्षाकोठा छोडेर सुरु भएको आन्दोलनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

राहत शिक्षकहरुको स्वत: स्थायीको माग शिक्षा क्षेत्रको लागि घातक रहेको हाम्रो निश्कर्ष छ । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पटकपटक स्वत: स्थायीको माग गरेर आन्दोलन गरिनु जति दुखद अरु हुन सक्दैन । आज सार्वजनिक शिक्षाको शिर उठाउने दायित्व पाउनुभएका शिक्षकहरुले खुल्ला प्रतिस्पर्धामा जान डराउनु जस्तो लाजमर्दो अरु के हुन सक्छ र ? अस्थायी शिक्षकहरुको सन्दर्भमा शिक्षा एेनको नवौं संशोधन मार्फत बिल्कुलै गलत प्रावधान राखिएको थियो । प्रारम्भदेखि नै हामीले बिरोध गरिरह्यौं । आन्तरिक दरबन्दीमा माग भएको कोटा बमोजिमका शिक्षक समेत उत्तीर्ण नहुनुले शिक्षा एेनको नवौं संशोधनको प्रावधान गलत रहेको सिद्ध गरिसकेको छ । यस अवस्थामा गलत निर्णयलाई नजिरको रुपमा स्थापित गर्ने अर्को गल्ती नगर्न नेपाल सरकार, शिक्षा मन्त्रालयलाई समयमै ध्यानाकर्षण गराउन चाहन्छौं ।

आदरणीय शिक्षकहरूलाई पनि शिक्षालाई जागिर खाने थलोको रुपमा मात्रै नबुझी शिक्षकको पेशागत मर्यादा, महत्वलाई आत्मसाथ गर्दै स्वत: स्थायीको मागबाट पछि हट्न र खुल्ला प्रतिस्पर्धालाई सहर्ष स्विकारेर अगाडि बढ्न अनुरोध गर्दछौं । आफ्नो ब्यक्तिगत स्वार्थ पुर्तिको लागि लाखौं विद्यार्थीको भविष्यमाथी खेलवाड गर्नेगरी बिद्यालय बन्द गर्ने, पठनपाठनमा असर पर्ने प्रकारको आन्दोलन नगर्न अनुरोध समेत गर्दछौं ।

यस परिप्रेक्षमा आन्दोलनको दबाबमा शिक्षा क्षेत्रमा हुने कुनैपनि अनुचित प्रकारको सहमति र सम्झौता किमार्थ स्विकार्य नहुने र त्यसको प्रतिरोधमा हामी दुई संगठन सधैं अग्रभागमा रहने ब्यहोरा सम्बन्धित सबै पक्षलाई यसै बिज्ञप्ति मार्फत अवगत गराउन चाहन्छौं ।

२१ फागुन, २०७५

नविना लामा                                                         रञ्जित तामाङ
अध्यक्ष                                                                अध्यक्ष
अनेरास्ववियु                                                         अनेरास्ववियू (क्रान्तिकारी)

Sharing

प्रतिक्रिया दिनुहोस