काठमाडौँ, १७ असोज । दुई महिनाअघि मात्र मर्मत–सम्भार गरिएको नौबिसे–नागढुंगा सडकले एउटा बर्खा पनि थेग्न सकेन। क्षमताभन्दा बढी भारका सवारीसाधन गुडाउँदा काठमाडौंतर्फ प्रवेश गर्ने लेन खाल्डाखुल्डी बनेको छ ।
खाल्डाखुल्डी भएको भाग असार मसान्ततिर पुरे पनि बढी भारका सवारीले लेन दबाएर खाल्डा बनाएको छ । सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुंगा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौंले हेर्ने गर्छ ।
क्षमताभन्दा बढी भारका सवारी गुडाउँदा देब्रे लेन कामै नलाग्ने गरी क्षतविक्षत भएको छ। बर्खा नसकिँदै अधिकांश भाग कामै नलाग्ने अवस्थामा पुगेको छ । यसले गाडी ओहोरदोहार गर्न मुस्किल हुने गरेको बसका चालक गणेश श्रेष्ठले बताए ।
‘उकालोमा बढी भार बोकेका ट्रकले लेन नै खाल्डाखुल्डी बनाइदिएको छ,’ उनले भने, ‘खाल्डाखुल्डी सडकमा १० किलोमिटर सडक पार गर्न धेरै समय लाग्ने अवस्था छ ।’ सडकको भारवहन क्षमताले नधान्ने सवारी गुडेकाले तीन महिनामै सडकको लेन भासिने गरेको चालकहरूको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।