असोज १५, काठमाडौं । दसैं माछामासुकै चाड भने हुन्छ । चाबहिलकी सबिना कोइरालालाई त मासुबिना दसैं हुन्छ जस्तो पनि लाग्दैन । हाम्रो चलनै पहिल्यैदेखि दसैंमा खसीबोका काट्ने हो ।
तर सबिना खसीबोकाको मासु रुचाउँदिनन् । ‘मलाई त खसीको मासु त मनै पर्दैन, कुखुरामात्र मनपर्छ,’ उनले भनिन् ।
काठमाडौंका अधिकांशले खसीबोका रूचाउँदैनन् । राँगा, भैंसीबाहेक बंगुर, कुखुरा, अस्ट्रिच, खरायो लगायतका मासुको पनि विकल्प बढ्दै गएपछि खसीबोका रूचाउने कम हुँदै गएका अनुमान छ ।
तर व्यापारीहरू यसमा सहमत छैनन् । अहिले पनि दसैंमा खसीबोकाकै बढी माग हुने उनीहरू बताउँछन् । अरू बेला अन्य प्रकारका मासु खाए पनि दसैंमा खसीबोका नै खोज्ने गरेको माछामासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले बताए ।
‘अरू बेलामा जेको मासु खाए पनि दसैंमा खसीबोका कै मासुको बढी माग हुन्छ,’ उनले भने ।
हाम्रा बाबुबाजेको पालादेखि नै ‘खसी नढाले के दसैं’ भन्ने भएर पनि दसैंमा अन्य मासुले स्थान लिन नसकेको उनी बताउँछन् । दसैं बेला खसीबोकाको मासु दस गुणा बढी माग हुन्छ । विशेषगरी फूलपातीदेखि टीकाको दिनसम्म बढी माग हुने उनले जानकारी दिए ।
यो बेला दैनिक एक हजार खसिबोका बिक्री–वितरण हुने नेपाल चौपाया खरिद–बिक्री सेवा संघका अध्यक्ष भानु पराजुली बताउँछन् । झण्डै वर्षभरिमा बेचिने खसीबोका दसैंको घटस्थापनादेखि नवमीसम्ममा पनि त्यत्तिकै संख्यामा बिक्री हुने उनी बताउँछन् ।
‘वर्षभरिमा खसीबोका त्यस्तै ५०/६० हजार वटा बेचिन्छ होला । गत वर्षलाई आधारमान्दा घटस्थापनादेखि नवमीसम्ममा ४०/५० हजार वटा खसी बिक्री भएको थियो,’ उनले भने ।
खसीबोकापछि कुखुरा र च्यांग्रा बिक्री हुने गरेको माछामासु व्यवसायी रमेश बताउँछन् । दसैंमा कुखुराको ‘रोष्ट’ बनाउन पनि अत्यन्तै माग हुन्छ । तर दसैंकै लागि भनेर कुखुराको बेग्लै माग नहुने राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जङ्गबहादुर बेल्वासले जानकारी दिए ।
‘जस्तो अरू बेला जाने हो त्यति नै बिक्री हुन्छ,’ उनले भने, ‘दसैंमा ठूला–ठूला होटलहरू समेत बन्द हुने हुँदा कुखुराको माग अन्य समय जस्तै नै रहन्छ । खास फरक पर्दैन ।’
उनकाअनुसार उपत्यकामा दैनिक साढे दुई लाखदेखि तीन लाखसम्मको कुखुराको मासु बिक्री हुँदै आएको छ ।
नेवार समुदायमा भने राँगाभैंसी बढी उपयोग हुने काठमाडौंका स्थानीय बासिन्दा उत्तम श्रेष्ठले बताए । त्यस्तै नेपालमा राँगाभैंसीको माग दिन प्रतिदिन बढ्दै गएको पनि पशुपंक्षीजन्य व्यवसायी संघका अध्यक्ष राजेन्द्र गोपालीले जानकारी दिए ।
हरेक महिना राँगाभैंसीको माग १० हजारको संख्यामा छ। उनले भने, ‘दसैंमा उपत्यकामा मात्रै १५ हजार वटा राँगाभैंसीको बिक्री हुन्छ ।’
त्यसैगरी, बंगुरको मासु पनि उत्तिकै माग हुने गरेको छ । दसैंमा काठमाडौंमा आठदेखि दस हजारसम्म बंगुरको मासु बिक्री हुने गरेको बंगुर व्यवसायी संघका महासचिव डिल्लीराज पौडेलले जानकारी दिए ।