भदौ १६, बारा । आन्तरिक राजश्व कार्यालय, सिमरा, बाराका कम्प्युटर अपरेटर सुदिप लामा घुस रकम सहित रंगेहात पक्राउ परेका छन ।
लामाले लामो समयदेखि कारोबार नभएको पान नं. बन्द गर्न सहजीकरण गरिदिने र राजश्व रकम छुट गरीदिने भन्दै विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग रू.४०,०००। घुसबापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनलाई घुस रकम सहित जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१, सिमरा बजारमा रहेको किराना पसल अगाडीबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।