मंसिर २०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप गलत रहेको बताएका छन् । राप्रपाको आन्तरिक निर्वाचनमा पूर्वराजालाई जोड्नु दुर्भाग्यपूर्ण कुरा भएको उनले टिप्पणी गरे ।

अध्यक्ष निर्वाचित भएपछि आज पदभार ग्रहण गर्ने क्रममा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै लिङदेनले यस्तो बताएका हुन् । अध्यक्षमा पराजित उम्मेदवार कमल थापाले राप्रपाको प्रतिस्पर्धामा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाएका थिए ।
लिङदेनले पत्रकारहरुसँग भने, ‘यो एकदमै दुर्भाग्यपूर्ण कुरा हो । यसले महाधिवेशन प्रतिनिधिहरूप्रति अविश्वास भएको छ । उहाँहरूले गरेको निर्णयको अपमान भएको छ ।’ उनले अबका दिनमा पार्टीलाई मिलाएर लैजाने बताए । को कुन प्यानलबाट जितेका हुन् भन्ने स्मरणमा नराखिकन पार्टीलाई एकजुट तुल्याइने उनको दाबी छ ।