मंसिर ५, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसियशनले भोलि (सोमबार) राजनीतिक दललाई ज्ञापन पत्र बुझाउने भएको छ। बारले नियमित कार्यक्रमअन्तर्गत सोमबार राजनीतिक दललाई ज्ञापनपत्र बुझाउन लागेको हो।
संसदमा आबद्ध दलहरुलाई सोमबार ज्ञापनपत्र बुझाउन लागेको हो । ‘प्रधानन्यायाधीशको राजीनामा किन? न्यायपालिकाको शुद्धीकरणका लागि के गर्न सकिन्छ भन्ने विषय ज्ञापनपत्रमा समेटिनेछ। यसअघि आज बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस पैरवी भएन। बारका महाचिव लीलामणि पौडेलका अनुसार सोमबार १० देखि १२ बजेसम्म देशभरिका अदालतमा हातमा कालोपट्टी बाँधेर धर्ना, विरोध सभा गरिने छ।
मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्याद बाहेक कुनै पनि अदालत, न्यायाधीकरणहरूमा फिराद, प्रत्युत्तर, पुनरेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने नगराइने बारले निर्णय गरेको छ। बुधबार १८ वटा उच्च अदालत तथा उच्च अदालतका इजलास रहेका स्थानमा बृहत् विरोध सभा आयोजना गर्ने बारको तयारी छ। बुधबार ती उच्च अदालतमा बहस पैरवी नगर्ने बारले जनाएको छ। त्यस्तै मंसिर ९ र १० गते बारले काठमाडौं उपत्यकाका सबै बार इकाईका सदस्यको सहभागितामा सर्वोच्च अदालत केन्द्रीत विरोध कार्यक्रम गर्ने बारको योजना छ।
त्यस्तै बारले मंसिर २४, २५ र २६ गते पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गरेको छ। अधिवक्ता हरि पराजुलीले प्रधानन्यायाधीश जबराले संवैधानिक परिषद् र कार्यपालिकामा भागबण्डा खोजेको भन्दै राजीनामाको विकल्प नरहेको बताए।