मंसिर ३, काठमाडौं । अनलाइन र युट्युवका नाममा बढ्दो बेथिति रोक्न प्रेस काउन्सिल नेपाललाई थप बलियो बनाउनुपर्ने सुझाव विज्ञहरूले राखेका छन् । छापा, रेडियो, टिभी हुँदै युट्युबसम्म आइपुग्दा मिडिया व्यवस्थापनमा चुनौती थपिएकाले त्यसलाई व्यवस्थित बनाउन राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने राय उनीहरूको छ ।

‘काउन्सिलमा काम गर्ने जनशक्ति अपुग छ, श्रोतको अभाव छ भने त्यो राज्यले हेर्ने विषय भयो । अनलाइनका नाममा अहिले देखिएका समस्यालाई काउन्सिलले सम्बोधन गर्नैपर्छ,’ अनलाइनमा पत्रकार आचारसंहिताको अवस्था, सूचीकरण एवं वर्गीकरण विषयमा आयोजित एक कार्यक्रममा सेतोपाटी डट कमका प्रधानसम्पादक अमित ढकालले भन्नुभयो ।ढकालले दर्ता नभई चलेका अनलाइनमाथि कडा निगरानी गरिनुपर्ने र दर्ता भएर आचारसंहिता उल्लङ्घन गर्नेका हकमा समेत प्रभावकारी अनुगमन हुनुपर्ने सुझाव राख्नुभयो ।
‘राज्यका नियामक निकायमा दर्ता हुने अनि बेथिति साथ सञ्चारमाध्यम चलाउनेमाथि काउन्सिलले के गर्दै आएको छ रु’ ढकालको प्रश्न थियो ।प्रेस काउन्सिल नेपालको सभाहलमा आयोजित कार्यक्रममा अनलाइन खबर डट कमका प्रधानसम्पादक शिव गाउँले, बाह्रखरी डट कमका प्रधानसम्पादक प्रतीक प्रधान, इकागज डट कमका प्रधानसम्पादक हरिबहादुर थापा र रातोपाटी डट कमका प्रधानसम्पादक अरुण बरालसहितले अनलाइन व्यवस्थापनबारे विभिन्न सुझावहरू राख्नुभएको थियो ।