मंसिर २, काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से नेप्से ३२.३९ अंकले गिरावट भएर २७६९.१३ अंकमा बन्द भएको छ । आज नेप्सेसँगै सबै उपसूचकमा पनि गिरावट भएको छ । हाइड्रोपावर उपसूचकमा सर्वाधिक २.८४ प्रतिशतको गिरावट हुँदा विकास बैंक उपसूचक २.०२ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि १.२ प्रतिशतले घटेको छ ।
बिहीबार बजार परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको छ । बुधबार ६ अर्ब ७० करोडको कारोबार भएको बजारमा आज कारोबार रकम ६ अर्ब २७ करोडमा झरेको हो । आज नेप्सेमा ९८ लाख ६२ हजार ९४० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजारको कारोबार भएको छ । नेप्सेमा आज कारोबार रकममा नेपाल दुरसञ्चार कम्पनीले लिड गरेको छ । कम्पनीको ६० करोडको कारोबार हुँदा महालक्ष्मी विकास बैंकको ५७ करोड, अपर तामोकोशीको ३९ करोड ५० लाख, नेशनल हाइड्रोपावरको १९ करोड र छिमेक लघुवित्तको १७ करोडको कारोबार भएको छ ।