कार्तिक ४, धादिङ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न पार्टी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन् । आज धादिङमा पार्टीको धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो औंल्याउँदै आफू सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।

पूर्वमहामन्त्री सिंहले कांग्रेसमा आफ्नो परिवारले त्याग मात्रै गरेको उल्लेख गर्दै १४ औं महाधिवेशनमा सभापतिमा दावी गरेका हुन् । उनले भने, ‘गणेशमानको परिवारले सधैं त्याग मात्रै गरेको छ । अब म पार्टीको नेतृत्व गर्छु, ‘म गणेशमानको छोरा भएर मात्रै राजनीतिमा आएको होइन । मेरो आफ्नै छुट्टै संघर्ष छ । यहाँसम्म आइपुग्दा धेरै अवरोधहरुको समाना गरेको छु ।’ उनले आफू अन्य क्षेत्रमा असफल भएर राजनीतिमा नआएको पनि उल्लेख गरे ।
नेता सिंहले अहिलेको पार्टी नेतृत्वका कारण कांग्रेस कमजोर भएको आरोप लगाए ।