• २०८३ जेष्ठ २ गते शनिवार

टोखामा चाकु स्मारिका विमोचन सम्पन्न

मेनुका कार्की पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक २, काठमाडौं । चाकुको उद्गम स्थल टोखा, तु र तुख्य हुँदै हालको टोखासम्मको यात्रा अनि टोखामा परम्परागत रुपमा उत्पादित चाकुको विगतदेखि वर्तमान र भविष्यको बारेमा गहन अध्ययन अनुसन्धान समेलित विभिन्न ऐतिहासिक लेखहरु संकलित ‘चाकु स्मारिका’ विमोचन गरिएको छ । टोखा परम्परागत चाकु संरक्षण समाजले आफ्नो तेस्रो साधारण सभाको अवसरमा आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ‘चाकु स्मारिका’ विमोचन गरिएको हो ।

टोखा नगरपालिका ३ वडा कार्यालयको सभाहलमा  समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका माननीय निलम ताम्राकार, विशिष्ट अतिथि टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोल, टोखा २ र ३ वडाका अध्यक्ष द्वय दिपकराज जोशी र सिंह राज श्रेष्ठ, अतिथि सरस्वती गाविसका पूर्व अध्यक्षा बाबुलाल डंगोल, नेवाः गुथिका तोखाका महासचिव हेराकाजी डंगोल, नेवाः गुथिका पूर्व अध्यक्ष देवराज डंगोल, टोखा संस्कृति सम्पदा संरक्षण दबूका अध्यक्ष मनिराज डंगोल लगायतको उपस्थितिमा चाकु स्मारिकाको विमोचन गरिएको थियो ।

“उखु र चाकुलाई केन्द्रित गरेर फाट्टफुट्ट लेख त हामीले लेख्यौँ । सञ्चार माध्यमले पनि यसलाई ठाउँ दिए । संसारभरि फैलिँदै गरेको चाकुको सुगन्ध त हामी प्रत्येकका नाकमा दौडिँदै दौडिँदै आइरहेको छ । यसको मूल्य ठम्याएर किताबकै रूपमा अभिलेख गर्ने साइत भने पहिले जुर्न सकेन । अहिले आएर यो गौरवपूर्ण कार्यमा युवाहरूको ओजिलो तत्परताको पोटिलो विश्वास जोडियो ! त्यसैले उखु र चाकुलाई मध्यविन्दुमा राखी पुस्तक प्रकाशित गर्न हामीले आजकै समय पायौँ  ।” स्मारिकाका प्रधान सम्पादक प्रभात सावकोटाले कार्यक्रममा बताउनु भयो । उहाँले पुस्तकमा समावेश भएका लेख रचनाहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रमा समाजका सल्लाहकार भक्त श्रेष्ठ काशिलाल श्रेष्ठ, भाईलाल श्रेष्ठ, कृष्णलाल श्रेष्ठ र न्हुच्छेलाल श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

समाजका महासचिव रामराज श्रेष्ठले सञ्चालन गरिएको उक्त कार्यक्रममा चाकु स्मारिकाका जेष्ठ लेखक हेमलाल श्रेष्ठ, स्मारिकाका प्रधान सम्पादक प्रभात सपकोटा, सम्पादक तथा लेआउट डिजाइनर टोखा मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष सुविन्द्र श्रेष्ठ, डिजाइनर सागराज लवट, चाकु उत्पादनमा ८ दशकदेखि सक्रिय कृष्णबहादुर श्रेष्ठ, टोखामा पहिलो नेपालभाषाको गिति संग्रह ‘ख्वोबि’ सार्वजनिक गरेका रचनाकार तथा गायक श्यामकाजी श्रेष्ठ तथा टोखाको संस्कृति, सम्पदा जात्रालाई वृत्तचित्र मार्फत प्रचार प्रसार गर्ने कार्यमा लागिरहेका बालकुमारी मुभिज हाउसका अध्यक्ष सानुकाजी थापालाई चाकु स्मारिकाद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमा टोखा नगरपालिका २ वडा सदस्य पञ्चकुमारी श्रेष्ठ, ३ वडासदस्य हरिमान श्रेष्ठ, वरिष्ठ पत्रकार कुमार रञ्जित पत्रकार तथा समाजका सदस्य लगायतको उपस्थित रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस