असोज २, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले माधवकुमार नेपालले एमालेलार्य विभाजन गर्दा नगन्य मात्रामा मात्र असर परेको दावी गर्नुभयो । आज नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले एमालेलाई हात्ती र माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टीलाई भुसुनाको संज्ञा दिनुभयो ।

हात्तीलाई भुसुनाले टोक्दा कुनै असर नपर्ने तर्क गर्दै नेता बस्नेतले माधव नेपालले एमाले विभाजन गरी नयाँ पार्टी दर्ता गर्दा मााथिल्लो तहदेखी तल्लो तहसम्म नगन्य मात्रामा मात्र असर परेको दावी गर्नुभयो । माथिल्लो तहका केही नेताहरु माधव नेतृत्वको पार्टीमा गएको तर आम कार्यकर्ता भने एमालेको विचार र सिद्धान्तलाई अक्षरस पालना गरी एकतावद्ध बन्दै व्यवस्थित पार्टी तथा संगठन निर्माणमा देशभर अभियान नै सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।
कम्युनिस्ट पार्टी नेताहरुकै स्वार्थले टुक्रिने गरेको भन्दै उहाँले अब माओवादीका कार्यकर्तालाई एमालेमा समावेश गर्ने चरण शुरु भएको दावी गर्नुभयो । कार्यकर्ता एकीकृत हुँदा स्वार्थको टकराब नहुने र पार्टी पनि बलियो हुने भएकाले प्रचण्ड–माधव निस्केपछि एमाले बलियो बन्दै गएको उल्लेख गर्नुभयो । नेता बस्नेतले प्रचण्डले आफू विस्तारै एक्लै पर्न थालेको गुनासो गरेको भन्दै सेनाविहीन सेनापति बन्नु भन्दा पहिले नै गल्ती स्वीकार गरेर एमालेमा फर्किन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘ माओवादी केन्द्र प्रचण्डले भने जस्तै विघटन हुँदैछ ,पेशागकर्मी र मतदाताको स्तरमा विघटित भइसकेको छ । त्यो पंक्ति एमालेमा आबद्ध भइसकेको छ । गल्ती सच्याएर, कान समातेर एमालेमा आउनुस्, अझै पनि डिप्रिसियसन धेरै काटिएको छैन । नत्र जति ढिला गर्यो उति तपाईकोम सान्दर्भिकता सकिनेछ । हामीले नेता मिलाएर एकता गर्न खोज्दा पार्टी मिलेन । यो एमाले नेकपा एकताको एमाले हो भन्ने कुरा यहाँ रामबहादुर थापा बादल कमरेडहरुको उपस्थितिले पुष्टि गरेको छ । निजामति कर्मचारीका प्रचण्ड पक्षमा रहेका ५१ प्रतिशत साथीहरु यहाँ जोडिनुभएको छ । अब तलैसम्म कार्यकर्ता मिलाउने हो ।’
पार्टी अध्यक्ष केपी ओलीले विकासको आँधी बेहरी ल्याएको देखेर विरोधीहरु अत्तालिएको पनि टिप्पणी गर्दै उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्नको लागि देशी विदेशी शक्तिमात्रै नभएर आफ्नै पार्टीका नेताहरु पनि लागेको दावी गर्नुभयो । आफूहरुले नयाँ ढंगले कम्युनिष्ट आन्दोलनलाई उठाउन थालेको र एमालेप्रति आकर्षण बढेको पनि दाबी गर्दै उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई कार्यकर्ताहरुले एकीकृत गरेर अघि बढाउने पनि प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो,‘नेपालको कम्युनिष्ट आन्दोलनलाई हामी बलियो बनाउँछौं । म कमरेड प्रचण्डलाई पनि अनुरोध गर्दछु, नेपालको कम्युनिष्ट आन्दोलनलाई शेरबहादुरको हातमा सत्ताको साँचो सुम्पिएर, शेरबहादुर देउवाको पुच्छर बनेर माधव नेपाललाई समेत विखण्डनको एउटा घिनलाग्दो अवस्थामा पुर्याईदिएर तपाईँहरु क्रान्ति र समाजवादको कुरा गर्ने, यो कुरा आज लोकले पत्याईरहेको छैन् । तपाईले आफ्नो राजनीतिक भविष्यलाई उज्जवल बनाउन चाहनुहुन्छ भने, अब म एक्लिँदै छु, माओवादी केन्द्र विघटित हुँदैछ भनेर तपाईँले भन्नुभएको छ, अब तपाईँहरु सेनाविहीन सेनापतिको उपमा पाउँदै हुनुहुनछ, यो दुःखद् परिस्थिति हुनुभन्दा पहिले आफ्नो गल्ती सच्याए, आफ्ना गल्ती स्विकार गरेर यो कम्युनिष्ट आन्दोलनको नेता बन्ने हो भने फेरि पनि नेकपा एमालेमा आवद्ध हुनुहोस, समय आउँछ पर्खिदैन्, बगेको खोला फर्किँदैन् ।’