असोज २, रुपन्देही । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रचण्ड र माधवको पार्टीले वडामा पनि जमानत जोगाउन नसक्ने दावी गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटीको १७ औं अधिवेशनमा बोल्दै रायमाझीले कांग्रेसलाई नेता मानेर कम्युनिष्ट आन्दोलनबिरुद्ध लागेको र प्रतिक्रियावादीको मतियार बनेको कारण प्रचण्ड र माधवको दलले वडामा पनि जमानत जोगाउन नसक्ने दावी गर्नुभएको हो ।
उहाँले प्रचण्ड र माधवलाई कम्युनिष्ट भन्नसमेत नमिल्ने तर्क पनि गर्नुभयो । कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएर कांग्रेसको गोटी बनेर हिंड्नेहरु अब आउने चुनावमा नराम्रोसँग पछारिने उहाँको भनाइ छ । रायमाझीले भन्नुभयो, ‘संघ, प्रदेश तथा पालिकामा होइन वडामा पनि जमानत जोगाउन सक्दैनन्, त्यही भएर एमालेविरुद्ध बाँकी रहेका सबै दलले गठबन्धन बनाएका हुन, जमानत जोगाउन, एक्लै लडेर जमानत जोगाउन एमाले चुनौतीको पहाड बनिसक्यो । सूर्य र हसियाँ हतौडा चुनाव चिन्ह लिएर चुनाव जितेका नेताहरुले कांग्रेस नेतालाई प्रधानमन्त्री बनाएर कम्युनिष्ट चरित्र ध्वस्त बनाए, उनीहरुले अव वडामा पनि जमानत जोगाउन सक्दैनन । कांग्रेसको पुच्छर बनेर हिंड्ने नेताहरुबाट यो मुलुक बन्दैन र उनीहरुलाई कम्युनिष्ट भन्ने अधिकार पनि छैन ।’