भदौ ३१, बेनी । नमूना आवासीय विद्यालय बनाउने योजना अलपत्र परेका छन् । गण्डकी प्रदेश सरकारले धवलागिरि गाउँपालिका–७ सिवाङमा रहेको हेम माध्यामिक विद्यालय र अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको शिख माविलाई नमूना आवासीय विद्यालयका लागि छनोट गरी पूर्वाधार निर्माण सुरुआत गरेको थियो ।छनोटमा परेदेखि नै विद्यालयमा अस्थायी पूर्वाधारमा आवासीय सुविधासहितको पठनपाठन सुरु गरिएको भए पनि भवन निर्माण योजनाले पूर्णता नपाएपछि आवासीय विद्यालय कार्यक्रम नै प्रभावित बनेको छ । भवन निर्माणको आधा कामसमेत नभएको र यस वर्ष आवश्यक पर्ने बजेटमा समेत भारी कटौती भएको शिख माविका प्रधानध्यापक केदार कार्कीले जानकारी दिनुभयो ।
“गत वर्ष बजेट र ठेक्का प्रक्रियामा भएको ढिलाइले समयमै काम हुन सकेन, योजनाको म्याद थप नहुँदा विनियोजित बजेटको ठूलो हिस्सा फिर्ता भयो, यो वर्ष बजेटमा भारी कटौती भएपछि भवन निर्माण योजना अलपत्र पर्ने देखिएको छ, यसबारेमा गाउँपालिका र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराइसकेका छौँ”, उहाँले भन्नुभयो ।गत वर्ष रु दुई करोड बजेटबाट काम सुरु भए पनि २० प्रतिशत मात्रै काम भएको छ । पहिलो तला ढलान भएको छ । भवनको अन्य केही काम भएको छैन । निर्माणाधीन भवनको माथितर्फ संरक्षण नभएकाले पहिरो खस्ने जोखिमसमेत बढेको छ । पहिलो वर्ष प्रदेशको रु ६० लाख र गाउँपालिकाको रु ५० लाख बजेटबाट एउटा भवन निर्माण भएको छ ।
करिब रु नौ करोड लागत अनुमान रहेको यस योजनामा यस वर्ष १० लाखमात्रै बजेट विनियोजन भएको जानकारी आएकाले योजना नै अलपत्र पर्ने जोखिम बढेको विद्यालयले जनाएको छ । आवासीय विद्यालयको पूर्वाधार योजनाको बजेट कटौती भएपछि मन्त्रालयमा पत्राचार गरी ध्यानाकर्षण गराइएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।पुरानो भवन भत्काएर नयाँ निर्माण सुरु भए पनि समयमै निर्माण नहुँदा आवासीयरूपमा बस्दै आएका विद्यार्थीलाई राख्ने ठाउँको अभाव हुने देखिएको छ । “गत वर्ष ३२ जनालाई आवासीय सुविधा दिएका थियौँ, यो वर्ष त्यो सङ्ख्या बढ्ने देखिन्छ, भौतिकरूपमा पठनपाठन सुरु भएपछि उनीहरुलाई कहाँ राख्ने रु अन्योलता सिर्जना भएको छ”, प्रअ कार्कीले भन्नुभयो ।