भदौ २०, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनकाे लागि भदौ १८ गते ३५ जिल्लाहरुमा वडा अधिवेशन शुरू भएकाे छ । भदौ १९ गते झापा र मुस्ताङ गरी दुई जिल्लाहरुमा वडा अधिवेशन सम्पन्न भएको छ ।
भदौ २० गते आइतबार दाङ जिल्लामा गरी हालसम्म जम्मा ३८ जिल्लाहरुको वडा अधिवेशन सम्पन्न भएको छ । भदौ २१ गते एघार जिल्लाहरुमा वडा अधिवेशन सुरु हुनेछ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाको क्रियाशील सदस्यहरुको नामावली पार्टीको आधिकारिक वेबसाइटमा प्रकाशन गरेको छ भने क्रियाशील सदस्यता सम्बन्धमा विवाद नटुंगिएको जिल्लाहरुमा सहमति गर्दै वडा अधिवेशन सम्पन्न पनि गर्दै जाने बताइएको छ ।
आगामी मंसिर ९ देखि १३ गतेसम्ममा चौधौं केन्द्रीय महाधिवेशन सम्पन्न गर्नेगरी भदौ २६ गतेसम्ममा देशैभरको वडा अधिवेशन सम्पन्न गर्ने जनाएको छ । भदौ २७ गते गाउँ, नगरपालिकाको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका छ । प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ५ गते, एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते र केन्द्रीय महाधिवेशन मंसिर ९, १०, ११, १२ र १३ गतेसम्ममा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको छ ।