भदौ, १९ संखुवासभा । लगातारको वर्षापछि आएको पहिरोले संखुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवा जाने सडक खण्ड अवरुद्ध भएको छ।
अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडक खण्डको चिचिला गाउँपालिकाको दिदिङमा सडक अवरुद्ध भएको हो। बिहीबार राति खसेको पहिरोले अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडक खण्ड अवरुद्ध भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए।
विद्युत् गृहस्थल छ्याङ्कुटी–दिदिङ सडकका विभिन्न स्थानमा पहिरो खसेको छ। शुक्रबारदेखि नै अवरुद्ध सडक खण्डको पहिरो हटाउन थालिए पनि हटाउन सकिएको छैन। शनिबार दिउँसोसम्म पहिरो हटाउने कामसकेर सडक सञ्चालन गरिने प्रजिअ पौडेलले बताए। छ्याङ्कुटी–दिदिङ खण्ड अवरुद्ध हुदाँ अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवा जाने सवारी साधन बिच बाटोमै अलपत्र परेका छन्।