भदौ, ८ सर्लाही । लालबन्दी नगरपालिका-१७ की १४ वर्षीया प्रियंका भुजेल हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई युवकलाई प्रहरी सार्वजनिक गरेको छ।
प्रहरीले सोमबार लालबन्दी नगरपालिका–१७ का १९ वर्षीय अनिष दहाल र १९ वर्षीय कृष्ण साहलाई सार्वजनिक गरेको हो। उनीहरुलाई घटनाको भोलिपल्टै छिमेकी जिल्ला महोत्तरीबाट पक्राउ गरिएको जिल्ला प्रहरीका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए।
दुवैजनाले आफूहरु संलग्न रहेको स्वीकार गरेको एसपी राठौरले बताए। उनीहरुलाई पक्राउ गरे लगतै पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडि बढाइएको थियो। सोमवार दोस्रो पटक म्याद थप गरेर अनुसन्धान गरिरहेको एसपी राठौरले जानकारी दिए।
गत साउन ३१ गते साँझ घरबाट बाहिरिएकी प्रियंका चार दिनपछि पूर्व–पश्चिम राजमार्गको कालिन्जोर पुलभन्दा केही माथि जंगलमा फेला परेको थियो। उनी स्थानीय फौदसिंह माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्थिन्।
युवतीको हत्यामा उनीहरु संलग्न रहेको पाइए पनि बलात्कार भए नभएको भने भेजाइनल स्वाबको रिपोर्ट आएपछि मात्र पुष्टि हुने एसपी राठौरले बताए। युवतीको शव परीक्षण गरिए पनि भिसेरा र भजाइनल स्वाब परीक्षणको रिपर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।