भदौ,४ विराटनगर । विराटनगर महानगरपालिका–७ मा ट्रकको ठक्करबाट बिहीबार राति पैदल यात्रीको मृत्यु भएको छ। रंगेली–विराटनगर सडक खण्डमा पूर्वबाट उत्तरतर्फ मोडिदै गरेको ना ७ ख ३१३ नम्बरको ट्रकले ठक्कर दिँदा पैदल हिँडिरहेका विराटनगर–७ का ५५ वर्षीय जनक बस्नेतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका बस्नेतको गोल्डेन अस्पतालमा उपचारका क्रममा राति ९:३५ बजेतिर मृत्यु भएको हो।
प्रहरीका अनुसार ट्रकले दिउँसो २ बजेतिर ठक्कर दिँदा बस्नेतको देव्रे खुट्टा भाँचिएको थियो। प्रहरीले ट्रक चालक काभ्रे घर भएका २८ वर्षीय दीपक श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ। प्रहरीका अनुसार साँघुरो बाटोमा ट्रक मोड्ने क्रममा दुर्घटना भएको हो।
दुर्घटनामा परेर मृत्यु भएका बस्नेतको शव बुझ्न आफन्त र परिवारका सदस्यले अस्वीकार गरेका छन्। बिरामीलाई आवश्यक पर्ने रगत ढिलो मागिएको र उपचारमा अस्पतालले लापरबाही गरेको भन्दै उनीहरुले मृतकको शव बुझ्न नमानिरहेको प्रहरीले जनाएको छ। आफन्त र परिवारका सदस्यले राति केहीबर अस्पताल परिषरमा होहल्ला एवं कर्मचारीसँग वादविवाद पनि गरेका थिए।
गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले उपचारमा कुनै पनि लापरबाही नभएको बताए। ‘दुर्घटनामा परेर गम्भीर घाइते भएका बस्नेतलाई दिउँसो ४ बजेतिर थप उपचारका लागि आईसीयूमा भर्ना गरियो। त्यतिबेला घाइतेको खुट्टाबाट अत्याधिक रक्तश्राव भइरहेको थियो,’ उनले भने, ‘उपचारमा आवश्यक परेपछि चिकित्सकले दिउँसो ४:३० बजेतिर रगत मगाए। तर परिवारका सदस्यले रगत नै ढिलो ल्याइदिएपछि घाइतेलाई बचाउन सकिएन।’
उनका अनुसार डाक्टरले मागेको लगभग तीन घण्टा ढिलो गरेर साँझ ७:३० बजेतिर मात्रै ल्याइएपछि रगत चढाउन ढिलो भएर घाइतेको मृत्यु भएको हो। मेहताले समयमै रगत प्राप्त नभएको र अत्याधिक रक्तश्रावले शरीरमा रगतको मात्रा कम भएका कारण घाइतेलाई बचाउन नसकिएको बताएका छन्।