साउन, २८ कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका ७ कञ्जभोज(सुन्दरनगर)मा आज सशस्त्र प्रहरीको २० औं बोर्डर आउट पोष्ट(बीओपी)को उद्घाटन गरिएको छ।
दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख वीरबहादुर सुनार र प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले संयुक्त रूपमा बीओपी उद्घाटन गरेका हुन्।
बीओपी उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सुनारले सशस्त्र प्रहरी सीमा क्षेत्रमा चौबीसै घण्टा तैनाथ रहेर अपराध नियन्त्रण गर्न सक्षम रहेको बताए।
सीमा क्षेत्रमा हुने अपराधका घटनाहरू सशस्त्र प्रहरीको उपस्थितिसँगै घटेको उल्लेख गर्दै उनले लागुऔषध ओसारपसारमा समेत कमी आएको बताए।
प्रमुख जिल्ला अधिकारी पाण्डेले अन्तरसीमा अपराध, मानव तस्करी, वन्यजन्तु तस्करी, लागुऔषध कारोबार रोकथाम, जाली नोटको कारोबार र अवैध क्रियाकलाप नियन्त्रण गर्ने कार्यमा सशस्त्र प्रहरी निरन्तर रूपमा लागिरहेको बताए।
सीमा क्षेत्रमा बसोवास गर्ने बासिन्दाको नागरिकता लगायतका अन्य समस्या समाधान गर्न लागि कार्य अघि बढाइने उनले बताए। जिल्लाकै यो पुरानो बस्ती भएकाले स्थानीय तह गठनसँगै विकास निर्माणका कार्यले गति लिएको कुरामा जोड दिँदै उनले यो क्षेत्र मुख्य नाकाका रूपमा विकास हुन लागेकाले विकासमा अघि बढ्ने बताए।
सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा रहने गरी उद्घाटन गरिएको बीओपीमा २५ जना जवान तैनाथ रहेका छन्।
सशस्त्र प्रहरी बलको ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक गणपति वीरेन्द्रबहादुर ऐरका अनुसार कञ्चनपुरमा १२९ दशमलव ५ किलोमिटर नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीका २० वटा बीओपी स्थापना गरिएका छन्।
बीओपी उद्घाटन कार्यक्रममा नगरपालिकाको वडा नं १० कुत्तियाकभरमा यसअघि स्थापना भएको बीओपी राख्न पाँच कठ्ठा जग्गा दान गर्ने खडकबहादुर बस्नेतलाई सशस्त्र प्रहरी प्रधान कार्यालयबाट उपलब्ध गराइएको कदरपत्र नगरप्रमुख सुनार र प्रमुख जिल्ला अधिकारी पाण्डेयले संयुक्त रूपमा हस्तान्तरण गरे।