साउन, २१ संखुवासभा। प्रहरीले संखुवासभाको चैनपुर नगरपालिकाबाट मोटरसाइकल चोरी गर्ने गरेको गिरोहलाई समातेको छ।
इलाका प्रहरी कार्यालय चैनपुरले बुधबार मोटरसाइकल चोरी गर्ने गिरोहका दुई जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका-२ का २० वर्षीय सुमन कार्की र चैनपुर नगरपालिका-३ का २१ वर्षीय सन्देश शेर्पा रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।
ती दुई व्यक्तिबाट ६ थान मोटरसाइकल समेत बरामद गरिएको प्रहरी निरीक्षक खतिवडाले बताए। गिरोहले केही महिना अघिदेखि चैनपुरका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी गरी नम्बर प्लेट परिवर्तन गरेर सस्तो मूल्यमा बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। जसमध्ये ५ थान पल्सर मोटरसाइकल, एक थान यामाहाको रहेको इलाका प्रहरीले कार्यालय चैनपुरले जनाएको छ।
चोरी भएका ६ वटै मोटरसाइकल इलाका प्रहरी कार्यालय चैनपुरले तेह्रथुम जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको प्रहरी निरीक्षक खतिवडाले बताए. मोटरसाइकल धनीहरूबाट मोटरसाइकल हराएको निवेदन आएपछि प्रहरीले चोरी गर्ने गिरोहको खोजतलास तीव्र बनाएको थियो।
नगरक्षेत्र आसपास मोटरसाइकल चोरीका घटनाहरू बढ्दै गएपछि चैनपुर प्रहरीले निगरानी बढाएर खोजी गर्ने क्रममा तेह्रथुमका कार्की र चैनपुरका शेर्पाबाट ६ थान मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ।
गिरोहले चैनपुर-५ का देवी बदादुर श्रेष्ठ, चैनपुर-६ का टिकाराम दाहाल, विष्णुराज तामाङ,ललित बहादुर कटुवाल,बुद्धिमान लिम्बुर चैनपुर चैनपुर-८ का राजकुमार तामाङको एक एक थान मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चैनपुरले पिलुवा खोलामा चेकजाँचको गर्ने क्रममा तेह्रथुमको फेदाप गाउँपालिका-२ का कार्कीको साथबाट बा ९६ प ३६०२ मोटरसाइकल बरामद भएपछि कार्कीलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा हराएको अन्य मोटरसाइकल बरामद गर्ने सफल भएको प्रहरी निरीक्षक खतिवडाको भनाइ छ।
पक्राउ पर्ने गिरोहलाई इलाका प्रहरी कार्यालय चैनपुरले चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय चैनपुरमा आएदेखि नै अपराध अनुसन्धानमा सक्रिय प्रहरी निरीक्षक खतिवडालाई एकपछि अर्को सफलता मिल्दै गएको छ।
प्रहरी निरीक्षक खतिवडाले जबरजस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर एक व्यक्तिलाई १० वर्षपछि पक्राउ गरेका थिए। त्यस्तै चैनपुरका किसानबाट २० लाख रुपैयाँ ठगी गरेर चार वर्षदेखि फरार भएका आरोपितलाई नेपालगञ्जबाट पक्राउ गर्ने सफल भएका थिए।