साउन १३, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चोरी भएको मोटरसाइकलसहित १ जना पक्राउ गरेको छ । पक्राउ हुनेमा कपिलवस्तुको यशोधरा गाउँपालिका – ५ लोहरौलीका वर्ष २१ का तौफिक पठान रहेका छन् ।
पठानले कपिलवस्तु नगरपालिका –१ बस्ने नेपाली कांग्रेसका जिल्ला नेता मोहम्मद वाजिह अरसदको बा ७२ प ६३११ नम्वरको १५० सिसिको पल्सर मोटरसाइकल चोरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए ।
वाजिह अरसदको मोटरसाइकल जेठ २४ गते हराएपछि खोजलतासका लागि प्रहरीमा निवेदन दिएका थिए । चेकिङका क्रममा काजग पत्र नभेटिएपछि च्याचिस नम्वर र इन्जिन नम्वर भिडाउने क्रममा चोरी भएको मोटरसाइकल रहेको खुलेको थियो ।
पक्राउ परेका पठानलाई चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । पक्राउ भएका पठान यशोधरा गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष लाइस पठानका छोरा हुन् ।