श्रावण १, काठमाडौँ। बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ । देश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषदको सिफारिसमा बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखकको कार्यालयका उपसचिव चिरन्जीवी पौडेलले जानकारी दिनुभयो । बिहीबार बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री शंकर पोखरेल संसद बैठक छाडेर हिड्नुभएको थियो ।

त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले बिहीबार साँझ साढे ५ बजे बैठक बस्ने गरी तोकेका थिए । साढे ५ बजे पनि बैठक बस्न नसकेपछि शुक्रबार दिउँसो १ बजे बैठक बस्ने सूचना जारी गरिएको थियो । तर, सरकारले मध्यरात संसद अधिवेशन नै अन्त्य गरेको छ ।
बजेट पारित नभएकाले शुक्रबारदेखि लुम्बिनी प्रदेशमा राज्यकोषबाट कुनै पनि रकम खर्च गर्न मिल्दैन । यद्यपि प्रदेशसभा अधिवेशन अन्त्य गरेर सरकारले अब अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ ।