असार २८,मुगु । मुगुको सोरु गाउँपालिकामा बिनियोजन अन्योलमा परेको छ । प्रमुख अतिथिको विषयमा जनप्रतिनिधिबिच विवाद उत्पन्न भएकोले सोरु गाउँपालिकाको गाउँसभा अन्योलमा परेको हो ।
जनप्रतिनिधिको विवादले आठौं गाँउसभाको अधिवेशन तथा बजेट सभा प्रभाबित हुँदा बजेट तथा नीति कार्यक्रमहरु अन्योलमा परेका छन् ।
असार २० गतेका लागि गाउँसभा तोकिएको भएपनि एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिका कारण प्रमुख अतिथि कस्लाई राख्ने भन्ने विषयमा टुंगो नलाग्दा गाउँसभा हुन सकेको थिएन ।
एमालेका जनप्रतिनिधिले पूर्वप्रतिनिधिसभा सदस्य गोपाल बहादुर बमलाई र माओवादी केन्द्रले पूर्वसांसद नवराज धामीलाई प्रमुख अतिथि बनाउन खोजेपछि विवाद भएको थियो । प्रमुख अतिथिको विषयमा दुवै दलका जनप्रतिनिधिबिच विवाद हुदा २० गते गाउँसभा उद्घाटन बस्न नसकेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले जानकारी गराएका छन् ।
संघीय संरचना अनुसार असार १० गते भित्रै गाउँसभा सम्पन्न गरी सक्नु पर्ने संवैधानिक व्यवस्था भए पनि जनप्रतिनिधिको विवादका कारण अन्योल भएको कर्मचारीको भनाइ छ ।
जिल्लाका चार स्थानीय तहमध्ये सोरु गाउँपालिकाले मात्र बजेट अधिवेशन गर्न सकेको छैन । छायानाथरारा नगरपालिका, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाले असार १० गते नै गाउँसभा सञ्चालन गरेका छन् । ती पालिकामा बजेट समेत पारित गरी सकेका छन् ।
सोरुगाउँपालिकाले तोकिएको मितिमा गाउँसभा बस्न नसके पछि असार २५ गते शुक्रबार सभाको उद्घाटन कार्यत्रलम गरिएको भए पनि २६ गते बिहान ११ बजेबाट बजेट प्रस्तुत गर्ने कार्यक्रमतय गरिएको भए पनि २ बजे सम्म सभामा कर्मचारी र सभा सदस्यहरु उपस्थित नभएपछि गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीको हस्ताक्षरमा सार्वजनिक सूचना प्रकाशित गरी सभाको बन्द सत्र स्थगित गराएका छन् ।