असार २२, काठमाडौं । सुनसरी, बराहक्षेत्र नगरपालिका-८ सुक्रबारेबाट करिब १ सय ५० किलो अवैध लागूऔषध गाँजा र १ थान नक्कली पेस्तोल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनि नगरपालिका-७ बस्ने २५ वर्षीय अमिर लिम्बु रहेका छन् । चतराबाट कोशी बाँध हुँदै सवारी साधनमा गाँजा लैजादै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले को.२ च ११२ नम्बरको भ्यान र को-२ प ३५०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजा र नक्कली पेस्तोल सहित फेला पारी मोटरसाइकल र भ्यानमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
भ्यान चालक र मोटरसाइकल सवार १ जना फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । उदयपुर, त्रियुगा नगरपालिका-३ चौडी बस्ने हर्क बहादुर बिकलाई २ केजी ५ सय ग्राम अबैध लागूऔषध गाँजा सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनको घरमा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
नवलपरासी -पश्चिम, सुनवल नगरपालिका-१२ हरकट्टाबाट नियन्त्रित लागूऔषध ९८ एम्पुल फेनारागन, ९८ एम्पुल डाईजेपाम, ९८ एम्पुल नुफ्रिन र ९८ पिस सिरिन्ज सहित रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका-६ बस्ने २३ वर्षीय बिनय कुमार हरिजन समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी बिट भुमहीबाट खटिएको प्रहरीले उनीहरुलाई लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका-९ खैरीपुरस्थित सडकबाट २ सय ८० मिलिग्राम अबैध लागूऔषध खैरो हिरोईन सहित सोही नगरपालिका-१ बनगाँउ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट खैरो हेरोइन सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।