असार १९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई राष्ट्रपति कार्यालयमा बुझाएको हस्ताक्षर सोमबारभित्रमा फिर्ता लिन अल्टिमेटम दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले सोमबार साँझ ५ बजेसम्ममा हस्ताक्षर फिर्ता लिन अल्टिमेट दिएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका आफ्ना २३ सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन बैठकले निर्देशन दिएको छ ।
एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गराइयोस् भनी हस्ताक्षर बुझाएका एमालेका नेताहरूलाई आफ्नो हस्ताक्षर फिर्ता लिन केन्द्रीय कमिटीले निर्णय गरेको छ ।
बहुदलीय प्रणालीमा दलको निर्णयविपरीत दलका सदस्यले गरेको हस्ताक्षर अनधिकृत हुने पनि सम्बद्ध पक्षलाई जानकारी गराउने निर्णय बैठकले गरेको छ । पार्टी एकताको पक्षमा उभिन र आफ्नै पार्टीका अध्यक्षसमेत प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हस्ताक्षर गर्दै प्रमुख प्रतिपक्षी दलका अध्यक्षलाई प्रधानमन्त्री बनाउने अभियानमा नलाग्न बैठकले ध्यनाकर्षण गराएको छ ।
‘आजको बैठकले आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री रहनुभएको वर्तमान सरकारलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भनेर हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष पुग्नु र त्यसमध्ये केही साथीहरू मुद्दाको पक्ष बनेर सर्वोच्च अदालतसम्म जानु मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, पार्टी विधान, राष्ट्र र जनताको चाहना, हित केहीसँग पनि मेल खाने विषय होइन’ ज्ञवालीले भने, ‘त्यो हस्ताक्षरलाई आउने सोमबार साँझ ५ बजेसम्म फिर्ता लिएर आन्दोलनको एकतामा योगदान गर्न हामीले आह्वान गरेका छौं । र त्यस्तो अनधिकृत हस्ताक्षर बहुदलीय प्रणालीमा दलको निर्णयविपरीत दलका सदस्यले गरेका हस्ताक्षरको कुनै मान्यता हुन नसक्ने, अर्थ, वैधता हुन नसक्ने पनि सम्बद्ध सबैमा जानकारी गराउने निर्णय गरेका छौं ।’
अहिले पार्टीभित्र देखिएका समस्याका कारण देशभर जनता तथा पार्टी नेताकार्यकर्तामा निराशा र विपक्षीमा उत्साह देखिएको उनले बताए । पार्टी कार्यकर्ताको भावनालाई केन्द्रमा राखेर एकतामा योग्दान गर्न नेता कार्यकर्तामा बैठकले आह्वान गर्ने निर्णय गरेको छ ।
‘सबै नेताकार्यकर्तालाई हाम्रो पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभारालाई जनचाहाना, कार्यकर्ताको भावनालाई केन्द्रबिन्दुमा राखेर एकतामा योगदान गर्न पुनः एकपटक आह्वान गरेका छौं,’ उनले भने ।
बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले समेत पार्टी एकताका लागि आह्वान गरेका छन् । दुई दिनभित्रमा हस्ताक्षर फिर्ता लिएर पार्टी एकताका लागि अघि बढ्न उनले आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले यदि दुई दिनभित्रमा हस्ताक्षर फिर्ता नलिए पार्टी एकतासमेत नहुने चेतावनी नेपाल समूहलाई दिएका छन् ।
‘हस्ताक्षर फिर्ता लिनमा फेरि म आग्रह गर्छु । यदि दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउने छुट एमाले सदस्यलाई छैन । यो किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु भनेको पार्टी फुटको घोषणा गर्नु हो,’ अध्यक्ष ओलीले भने ।
हस्ताक्षर फिर्ता लिन आग्रह गरेका ओलीले वरिष्ठ नेता नेपाललाई भेटेर छलफल गर्न खोजेका बताए । ‘मैले फोन गरेर भेटौंभन्दा उहाँ मान्नुभएन । हिजो बेलुकी मैले २०-२५ मिनेट कुरा गरें । उहाँले त फोन नै उठाउने मन थिएन साथीहरूको दबाबले मात्र उठाए भनेर भन्नुभयो,’ ओलीले भने ।
नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि पहल गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको कार्यशैलीप्रति विरोध जनाउँदै आएका उपाध्यक्ष गौतम शुक्रबारको बैठकमा सहभागी हँुदै पार्टी एकताका लागि आफूलाई जिम्मेवारी दिन मागसमेत गरेका छन् ।
‘म तपाईकोमा आइसकें, अब फर्किन्न । आजको आवश्यकता पार्टी एकता हो । यसका लागि दुवै पक्ष लचक हुनैपर्छ । कसले हामीलाई छिन्नभिन्न पार्न खोज्दै छ हामीले बुझ्न आवश्यक छ । म यति दिनभित्र त भन्दिनँ तर मैले जिम्मेवारी पाएँ केही दिनभित्रमा एकता गर्छु । एमालेभित्रै र पछि अन्य पार्टीसँग समेत एकता गर्न सक्छु,’ गौतमले भने ।
उपाध्यक्ष गौतमले आफूमाथि विश्वास गर्न आग्रह गर्दै पहिला एमालेका वरिष्ठ नेता नेपाल र पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत एकता गरेर देखाउन सक्ने बताए । बृहत् कम्युनिस्ट एकताका लागि नेपाल र प्रचण्डलाई समेत एकै ठाउँमा ल्याउन आवश्यक रहेको उनले बताए ।
आफू सधैं पार्टी एकता र कम्युनिस्टबीच बृहत् एकता हुनुपर्ने पक्षमा रहेको बताउँदै कम्युनिस्ट आन्दोलन जोगाउन एकताको विकल्प नभएको बताए । अध्यक्षको भूमिका संरक्षकको हुनुपर्ने बताउँदै उनले कसैले सम्मान गरेन भन्दैमा त्यही खालको व्यवहार देखाउन नहुने सुझाव गौतमले दिएका छन् ।
बैठकले पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी तथा पार्टी अध्यक्ष एवं लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीलगायत आन्दोलनका अग्रजप्रति उच्च सम्मानका व्यक्त गर्दै उनीहरूले देखाएको आदर्शलाई पछ्याउने र निर्माण गरेको बाटोमा अविचलित रूपमा अगाडि बढ्ने संकल्प पारित गरेको छ ।
यसैगरी, बैठकले बाढीपहिरोबाट विस्थापित परिवारलाई राहत, व्यवस्थापन तथा उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । भारतको नयाँ दिल्लीमा स्वास्थ्योपचार गराइरहेका पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना बैठकले उनको स्वास्थ्योपचारको जिम्मा लिएका पार्टी अध्यक्षप्रति धन्यवाद व्यक्त गरेको छ ।
पार्टी स्थापनाको सयौं वर्षगाँठको सुखद उपलक्ष्यमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि चिनफिङ र चिनियाँ कम्युनिस्ट पार्टीलाई बैठकले हार्दिक बधाई ज्ञापन गरेको छ । सय वर्षको संघर्षपूर्ण अवधिमा चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनतालाई सामन्तवादबाट मुक्त गरेको छ, चिनियाँ राष्ट्रलाई विदेशी उत्पीडनबाट स्वतन्त्रता दिलाएको छ र सयौं वर्षदेखि जारी गरिबीको दुश्चक्रबाट मुक्त गर्दै चिनियाँ जनतालाई समृद्धिको प्रत्याभूति दिलाउन सफल भएको निष्कर्ष बैठकको रहेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले पूर्वाधार निर्माण, कृषिमा युगान्तकारी रूपान्तरण, प्रविधिको नवीनतम विकास, शिक्षा स्वास्थ्य कला खेलकुदसहितका सामाजिक क्षेत्र, अन्तरिक्ष विज्ञानलगायतमा हासिल गरेका प्रगति चामत्कारिक प्रकृतिको रहेको ठहर बैठकले गरेको छ । चीनले विश्वका विकासशील देशहरूको पक्षमा खेलिरहेको भूमिको प्रशंसा गर्दै तमाम सफलता एवं उपलब्धिका लागि तथा सापेक्ष रूपमा समुन्नत समाजवादी मुलुक बनाउने पहिलो शताब्दी लक्ष्य हासिल गरेकोमा खुसी व्यक्त गरेको छ ।
यसैगरी, बैठकले कोरोनाभाइरसविरुद्धको खोप अविलम्ब उपलब्ध गराउन सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । बैठक शनिबार ३ बजे पुनः बस्ने प्रवक्ता ज्ञवालीले बताए । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।