असार १६, मुगु ।कोरोना संक्रमण नियन्त्रणलाई थप प्रभावकारी बनाउन मुगुमा २३ असारसम्म निषेधाज्ञा थपिएको छ । पछिल्लो समय कोरोना संक्रमित बढेसँगै जोखिम निम्त्याउने आशंकामा मुगु प्रशासनले पुनः एक साता दिनसम्म निषेधाज्ञा थपेको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति मुगुको बैठकले २० वैशाखको सिफारिसअनुसार २३ असारम्म निषेधाज्ञा थपिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) मुगुले थप जारी गरेको निषेधाज्ञा अवधिभर स्वास्थ्य, शान्ति–सुरक्षा, विद्युत्, सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, तरकारी, खाद्य तथा दुग्धजन्य पदार्थ, औषधी पसललगायत भने सञ्चालन हुनेछन् ।
अत्यावश्यक बाहेकका पसलहरु विहान ९ बजे देखि बेलुका ४ बजे सम्म मात्र खुल्न पाईने प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकोटीले जानकारी दिनु भयो । कोरोना संक्रमण नियन्त्रणमा नआएपछि पुनः निषेधाज्ञा थप गर्नुपरेको मुगु प्रशासनले जनाएको छ । जिल्लामा हवाई जहाज बाट वा अन्य साधन बाट आवतजावत गर्दा अनिवार्य रुपमा एन्टिजेन परिक्षण गरिनु पर्ने बैठकले निर्णय गरेको हो ।