असार १२, काठमाडौं । प्रहरीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ बाबाथानबाट १ ग्राम ७ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित सोही नगरपालिका-४ झोलुङ्गे बस्ने २० वर्षीय गौरव सिंहलाई शुक्रबार राति पक्राउ गरेको छ । म.२ प ६८१३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलका चालक सिंहलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै सर्लाही, लालबन्दी नगरपालिका-१५ तिनतल्ले झल्लाचौडीबाट करिब ८० केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईश्वरपुर नगरपालिका-१२ बस्ने ३३ वर्षीय आईतसिंह स्याङतान र सोही ठाउँ बस्ने ५४ वर्षीय मान बहादुर स्याङतान रहेका छन् । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर समेतबाट खटिएको प्रहरी टोलीले ५ जना व्यक्तिले उक्त गाँजा बोकी ल्याई राखेको अवस्थामा नियन्त्रणमा लिन खोज्दा गाँजा फाली भाग्ने क्रममा उनीहरूमध्ये आईतसिंह र मान बहादुरलाई गाँजा सहित पक्राउ गरेको हो । फरार रहेका अन्य ३ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
साथै मकवानपुर, राक्सिराङ गाउँपालिका-५ परेवाभिरस्थित सडकबाट करिब ७९ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-९ बस्ने २० वर्षीय प्रताव स्याङतान र कैलाश गाउँपालिका-२ बस्ने ४३ वर्षीय लाल बहादुर स्याङतान रहेका छन् । प्रहरी चोकी चैनपुरबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ भारी बोकेर पदैल हिँडिरहेका ९ जनाले भारी फालेर फरार भएपछि उनीहरुमध्ये प्रताव र लाल बहादुरलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार अन्य व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।