• २०८३ कार्तिक २७ गते बिहिवार

स्लोभाकियालाई ५-० गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १०, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा स्पेन समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । सेभियामा बुधबार राति भएको खेलमा स्लोभाकियालाई ५-० गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलको १२ औं मिनेटमा स्पेनका अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न सकेनन् । मोराटाको पेनाल्टी प्रहार स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले बचाए । तर, खेलको ३० औं मिनेटमा गोलकिपर मार्टिनको आत्मघाती गोलबाट स्पेनले सुरुवाती अग्रता बनायो । स्पेनका पाब्लो सराबियाको प्रहार क्रसबारमा लाग्दै फर्किएको बल क्लियर गर्न्ने क्रममा मार्टिनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा जेरार्ड मोरेनेको पासमा लापोर्टले हेड मार्फत गोल गर्दै पहिलो हाफमा स्पेनलाई २-० को अग्रता दिलाए । खेलको ५६ औं मिनेटमा सराबियाले जोर्डी अब्लाको पासमा गोल गर्दै स्पेनलाई ३-० को अग्रता दिलाए । ६७ औं मिनेटमा सराबियाको पासमा टोरेसले गोल गर्दै स्पेनलाई ४-० को अग्रता दिलाए । त्यसपछि खेलको ७१ औं मिनेटमा स्लोभाकियाका जुराज कुच्काले आत्मघाती गोल गरेपछि स्पेनले ५-० को जित निकाल्यो । पाउ टोरेसको हेडर बल जुराजको खुट्टामा लाग्दै गोल भएको थियो ।

यससँगै समूह ई मा रहेको स्पेनले पहिलो जित समेत निकालेको छ । स्पेनले ३ खेलमा ५ अंक जोड्यो र समूहको दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस