असार २, मनाङ । तीन दिनदेखि निरन्तर पानी परेपछि आएको बाढीले मनाङमा निकै ठूलो क्षति पुर्याएको छ। बाढीले घर, सरकारी कार्यालय, काठेपुल र सडक बगाएको छ। केही गाउँका घर डुबानमा परेका छन् भने लघुविद्युत गृह भत्केको हो।

निकै कम वर्षा हुने हिमालपारिको जिल्लामा यो वर्ष बाढीले ठूलो विनाश गरेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । लमजुङको सीमा जोडिएको ताल बजार गाउँ मर्स्याङ्दी नदीमा आएको बाढीले कारण डुबान परेको हो। सदरमुकाम चामेबाट विस्थापित भएका ३ सय जनालाई जिल्ला कारागारको नयाँ भवनमा सारिएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुस्ख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई टेलिफोन गरी मर्स्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा ताल गाउँका बासिन्दालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र उनीहरुलाई बसोवासको प्रबन्ध गर्न निर्देशन दिएका छन् ।