जेठ १८, कैलाली। कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बसेकाहरूको हौसला बढाउन कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी स्वास्थ्यकर्मीको टोलीसहित सङ्क्रमितका घरघरमा पुगेपछि आफूहरूमा सकारात्मक ऊर्जा आएको सङ्क्रमितहरूले बताएका छन् ।
कोरोना सङ्क्रमणको दोस्रो चरणका कारण प्रभावित बनेको कैलालीमा सङ्क्रमणको दर केही घटे पनि रोकिन सकेको छैन भने ज्यान गुमाउनेको सङ्ख्या पनि घटेको छैन । सक्रिय सङ्क्रमित होम आइसोलेशनमा बस्दा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड, ध्यान दिनुपर्ने खानपिनको जानकारी तथा औषधि भएरनभएकोलगायतका विषयमा जानकारी दिनुका साथै सङ्क्रमण देखिएर होम आइसोलेशनमा बसिरहेकाको आत्मबल बढाउन आफूहरू सङ्क्रमितकै घरसम्म पुगेको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।
‘केही सङ्क्रमितलाई पालिकामा आवश्यक मात्रामा अक्सिजन नभएकाले स्वास्थ्यमा बढी समस्या देखिँदा गाह्रो हुन्छ भन्ने चिन्ता रहेछ, हामीले पालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन, स्वास्थ्यकर्मीको व्यवस्था रहेको जानकारी दिँदै अलि समस्या देखिए सम्पर्क अनुरोध गर्यौँ, यसले पनि सङ्क्रमितमा ऊर्जा थपिएको महसुस भएको छ’, नगरप्रमुख चौधरीले भन्नुभयो ।
स्वास्थ्यकर्मीको टोलीसहित आफ्नो घरमा नगरप्रमुख आउँदा आफूहरूमा ऊर्जा थपिएको घोडाघोडी नगरपालिका–१० का एक सङ्क्रमितले बताउनुभयो । ‘गाउँघरमै धेरै जनाको ज्यान लिइसकेको महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण आफूलाई देखिँदा म निकै तनावमा थिएँ तर आज उहाँहरु आएर स्वास्थ्य उपचारका लागि चिकित्सकदेखि अक्सिजनसम्म आफ्नै पालिकामा भएको र समस्या परे खबर गर्न अनुरोध गरेपछि केही चिन्ता र तनाव घटेको छ’, उहाँले भन्नुभयो ।
अहिलेसम्म नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना भाइरसबाट घोडाघोडी नगरपालिकामा १०५ सक्रिय कोरोना सङ्क्रमित होम आइसोलेशनमा बस्दै आएको, अस्थायी कोरोना अस्पतालमा अहिले चार जनाको उपचार भइरहेको, अहिलेसम्म ८५ जना निको भइसक्नुभएको तथा सङ्क्रमणबाट २० जनाको ज्यान गएको स्वास्थ्य शाखा प्रमुख रावतले जानकारी दिनुभयो ।