वैशाख ३१, काठमाडौं। काठमाडौं उपत्यकामा अक्सिजन सिलिण्डर वितरणको जिम्मा कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) सचिवालयले लिए पनि चार दिन पछि पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नै जिम्मा दिएको छ । अक्सिजन सिलिण्डर वितरण प्रकृया कठिन भएको भन्दै सिसिएमसीले शुक्रबार (आज)देखि मन्त्रालयबाट वितरण हुने भन्दै सूचना जारी गरेको हो ।
सिसिएमसीले भने वैशाख २७ देखि २९ गते तीन दिनमा १७ हजार ३४१ अक्सिजन सिलिण्डर वितरण अस्पतालहरुलाई वितरण गरेको थियो । अक्सिजन सिलिण्डर मागको आपुर्ती मन्त्रालयबाटै हुने गरी निर्णय गरेको सिसिएमसी सचिवालयका सहसचिव नुरहरी खतिवडाले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट वितरण हुँदै आएको अक्सिजन सिलिण्डरलाई बजारमा अभाव हुन नदिन भन्दै काठमाडौं उपत्यकाको लागि सिसिएमसी सचिवालयले वितरण गर्ने जिम्मा लिएको थियो ।
सिलिण्डरको अभाव भएसँगै नेपाल प्रहरीको सहयोगमा बजार अनुगमन गरी भेटिएका खाली सिलिण्डर संकलन गरी अस्पतालहरुलाई वितरण शुरु गरेको सिसिएमसीले जनाएको छ । थप व्यवस्थापनका लागि मन्त्रीपरिषद्ले ५० हजार खालीसिलिण्डर विदेशबाट ल्याउने समेत निर्णय गरेको छ । २० हजार सिलिण्डर चीनबाट अनुदानमा ल्याउने भने पनि ४०० वटा भने ल्याई सकेको छ ।
