• २०८३ जेष्ठ २१ गते बिहिवार

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

बैशाख २९, भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ ।

जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ । अक्सिजनका लागि २४ घण्टा अघिदेखि नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमदेखि अस्पताल प्रशासनसम्म भौंतारिए पनि अक्सिजन पाउन सकेनन् । मेसु डा गौतमले अक्सिजन कम्पनीदेखि सिसीएमसी, स्वास्थ्य मन्त्रालय, प्रदेश मन्त्रालयसम्मलाई दिनभर हारगुहार गर्दा पनि अक्सिजन नआएपछि समस्या परेको बताइन् ।

सगरमाथा अक्सिजन कम्पनीबाट विगतमा अक्सिजन ल्याउने गरेको भक्तपुर अस्पतालले त्यहाँबाट पनि अक्सिजन पाउन छाडेपछि जनकपुरदेखि अक्सिजन ल्याउन शुरु गरेको थियो । तर जनकपुरबाट पनि अक्सिजन सहजरूपमा पाउन छाडेको र टाढाबाट ल्याउँदा कम्तीका दुई दिन लाग्ने हुँदा अक्सिजन अभावले अस्पताल भर्ना भएका कोभिडका बिरामीको ज्यान नै जोखिममा परेको छ ।

सबै बिरामीलाई हाइफ्लोरको अक्सिजन दिनुपर्ने भएकाले भक्तपुर अस्पतालमा २४ घण्टामा २०० सिलिण्डर अक्सिजन खपत हुने गरेको छ ।विगतमा सगरमाथा कम्पनीबाट अक्सिजन आपूर्ति गर्दै आएको अस्पतालले त्यहाँ नपाएपछि बालाजुको अक्सिजन कम्पनीबाट समेत अक्सिजन पाएन। त्यसपछि जनकपुरबाट ल्याएको ८० सिलिण्डर अक्सिजन सकिएको र अरु अक्सिजन नआएपछि मंगलबार साँझदेखि नै अक्सिजनको अभाव भएको हो।

‘उपत्यकामा अक्सिजन नपाएपछि जनकपुरदेखि ल्याउन थाल्यौँ, अब त्यहाँबाट पनि सहज नपाइने भयो, सरकार ७० शय्याको हाइकेयर युनिट चलाऊ भन्छ, तर अक्सिजन छैन, भर्ना भएका बिरामीलाई अक्सिजन नभएको अवस्थामा नयाँ बिरामीलाई कसरी भर्ना गर्ने रु’ उनले भनिन्।

सिसीएमसीले बल्ल कान्तिपुर अक्सिजन कम्पनीमा जान भने पनि त्यहाँ अक्सिजन नै नभएको भन्दै फर्काएपछि बिरामी बचाउन चिकित्सकहरुलाई हम्मे परेको छ । ‘अस्पतालमा अक्सिजन छैन, सबै बिरामीलाई अक्सिजन दिनुपर्छ, बिरामीको ज्यान जोखिममा छ, अक्सिजन नहुँदा कुनै दुर्घटना भयो भने त्यसको जिम्मेवारी अस्पतालले लिन सक्दैन,’ उनले भनिन् । बिरामीको सङ्ख्या र आवश्यकता हेरेर तत्काल अक्सिजनको व्यवस्था गरिदिन उनले आग्रह गरेकी छन्। सिसीएमसीको सिफारिसबिना अक्सिजन दिन नपाउने नियम बनाएपछि अस्पताललाई थप समस्या परेको छ ।

सिसीएमसीले जथाभावी अक्सिजन कम्पनीमा अस्पतालको नाम र अस्पताललाई आवश्यक पर्ने भन्दा निकै कम मात्रामा अक्सिजनको सिफारिस गर्नाले पनि अभाव भएको अस्पताल सञ्चालकरुको भनाइ छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालमा अक्सिजन अभाव भएपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आफैँ मङ्गलबार दिनभर दौडधुप गरेर १८ सिलिण्डर अक्सिजनको जोहो गरी भर्ना भएका बिरामीको ज्यान बचाएका थिए । यस अस्पतालमा छ भेन्टिलेटर, पाँच आइसीयू, १४ हाइकेयर युनिट र १८ आकस्मिककक्षमा गरी ४३ कोभिड–१९ का बिरामीको उपचार भइरहेको छ । यस अस्पतालले नवज्योति कम्पनीसँग सहमति गरी रकम जम्मा गरेर अक्सिजन ल्याउने गरे पनि पछिल्लो समयमा सिसीएमसीले अन्यत्रै सिफारिस गरिदिएपछि अक्सिजनको अभाव भएको हो ।

अस्पताललाई दैनिक ७० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भए पनि सिसीएमसीले काभ्रेको एक कम्पनीमा १० सिलिण्डरमात्रै सिफारिस गरिदिँदा अस्पतालले अक्सिजनको थप अभाव झेल्नुपरेको अस्पतालको भनाइ छ । अस्पतालले अक्सिजन अभाव भएको र १८ बिरामीको ज्यान जोखिममा परेको जानकारी गराएलगत्तै मङ्गलबार दिनभरि नै नगरप्रमुख श्रेष्ठको अक्सिजन जोहो गर्न निकै दौडधुप चल्यो । सिसीएमसीदेखि स्वास्थ्य मन्त्रालय, टेकु अस्पताल र विभिन्न अक्सिजन कम्पनीमा दौडधुप गर्दा पनि नपाएपछि काभ्रेको कम्पनीमा आफैँ गएर १८ सिलिण्डर अक्सिजन जोहो गरेपछि अस्पतालका बिरामीको ज्यान बचाउन सफल भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस