• २०८३ असोज ९ गते शुक्रवार

समयमा रगत नपाउँदा सुत्केरीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, काठमाडौं । समयमा रगत नपाउँदा सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिका –३ की एक सुत्केरीको मृत्यु भएको छ । सोमवार सुत्केरी बेथा लागेपछि २६ वर्षीया सिर्जना कुलुङलाई ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएकोमा अत्यधिक रक्तश्राव भएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लैजाँने क्रममा खाँदबारी –१० चन्दनपुर आइपुगेपछि उनको मृत्यु भएको हो ।

ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएको केही घण्टामै कुलुङले साधारण रुपमै शिशु जन्माएकी थिइन । बच्चा जन्मिएको केही समयपछि सुत्केरीको रक्तश्राव हुन थाल्यो । अत्यधिक रक्तश्राव भएपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पठाइयो । सदरमुकाम खाँदबारी लैजाने क्रममा सिलिचोङ ३ की उनको सोमवार राति ७ बजे मृत्यु भएको सिलिचोङ ३ का वडाध्यक्ष प्रतापसिंह तामाङले जनाए ।

शिशु जन्मिएदेखि नै अत्यधिक रक्तश्राव भएको र साल अड्किएपछि थप उपचारका लागि सदरमुकाम खाँदबारी लैजान रेफर गरिएको ताम्कू प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा भारती पण्डितले जानकारी दिनुभयो ।

सदरमुकामसँग सडक सञ्जाल नजोडिएको सिलिचोङमा गाडी आवतजावत हुन नसक्ने तथा कच्ची बाटो र समयमा एम्बुलेन्स नपाएका कारण सिर्जना कुलुङको बाटैमा निधन भएको हो । शिशुको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस