• २०८३ बैशाख ३० गते बुधवार

हार्डवेयर गोदाममा भेटियो पेस्तोल र गोली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, मोरङ । विराटनगर महानगरपालिका–७ स्थित आर.एम. टेडर्स नामक हार्डवेयरको गोदामभित्र आइतबारराति पेस्तोल र गोली भेटिएको छ । लुकाएर राखेको अवस्थामा एउटा कटुवा पेस्तोल र दुई राउण्ड गोली भेटिएपछि हार्डवेयरका कामदार सुनसरीको इटहरी उप–महानगरपालिका–१७ का २३ वर्षीय सुजित साहलाई प्रहरीले पक्राउ गरेको हो ।

वरुण धाडेवाको घरको सटर भाडामा लिएर सञ्चालन गरेको हार्डवेयरको गोदामभित्र पेस्तोल र गोली ल्याएर राखेको पाइएपछि साहलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । उनीविरुद्ध प्रहरीले सोमबार हातहतियार खरखजना मुद्दा चलाउन म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका साहले आफूले नै ल्याएर पेस्तोल र गोली हार्डवेयरको गोदामभित्र लुकाएर राखेको बताएको प्रहरीले जनाएको छ ।

भन्सार छली गरेर ल्याइएको तस्करीको सामान लुकाएको आशंकामा प्रहरीसहित राजस्व अनुसन्धान कार्यालय इटहरीको टोली छापा हान्न हार्डवेयरको गोदाममा पुग्दा आइतबारराति पेस्तोल र गोली फेला परेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस