वैशाख १०, काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ। कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको हो ।

विश्वभर फैलँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ। पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ।
विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गराइएको छ । मन्दिरका ढोका नै बन्द गरी पशुपति क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको कोषले जनाएको छ।पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए। यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ।